चरिकोट, २१ भदौ
खानेपानी आयोजना सञ्चालनको विषयमा जिल्लाको मेलुङ गाउँपालिकामा केही दिन अघि भएको विवाद बारे गाउँपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले आज एक प्रेस विज्ञप्ति प्रकाशन गरी धारणा बाहिर ल्याउनु भएको हो ।
प्रेस विज्ञप्तिमा मेलुङ गाउँपालिकाको वडा नं. ४ मा सञ्चालन हुने गरि संघिय सरकारको तर्फबाट विशेष अनुदान अन्तर्गत अरले खानेपानी योजना विश्वकर्मा टोल, लामाटार, आँगेटार, विर्ताटोल र भेड्पुमा यस आर्थिक वर्षमा सञ्चालन हुने गरि नब्बे लाख रूपैंया विनियोजित भएकोमा टोल बस्तिहरूमा घरधुरी सर्वेक्षणको काम भैरहेको छ जनाएको छ ।
सो बारेमा केहि स्थानीयहरूको तर्फबाट कार्यालयमा गुनासो प्राप्त भएपछि गाउँपालिकाले सम्बन्धित वडाका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरू र स्थानीयहरूलाई सर्वपक्षिय र सर्वदलिय रूपमा छलफल गरी वडासमिति र कार्यपालिकाको बैठकबाट कानुनसम्मत रुपमा उक्त योजना सञ्चालन गर्ने तयारी भैरहेकै छ गाउँपालिकाले प्रष्ट पारेको छ ।
विज्ञप्तिका अनुसार गाउँ कार्यपालिकाको कार्यालय भेड्पुमा गत भदौ १८ गते अध्यक्ष नरबहादुर श्रेष्ठ आफ्नो कार्यकक्षमा रहेका बेला दिउँसोको १२ बजे मेलुङ्ग गाउँपालिकाको ४ न वडा भेड्पु बस्ने प्रविण थोकर, कृपाश्वर गोले, सपन गोले, सुदिप गोले र मधुकर गोले गरि ५ जनाको अगुवाईमा आएको भिडले अध्यक्षको कार्यकक्ष घेराउ गरि कार्यालय आगो लगाउने समेत धम्कि दिदै, हुलहुज्जत गरि सुरक्षाकर्मीले रोक्दारोक्दै बलजफती प्रवेश गरि कार्यालयको ढोका फोड्ने, टेबुल कुर्सिहरु तोडफोड गर्ने, टि-टेबलको सिसा फुटाउने कार्य गरेको उल्लेख गरिएको छ ।
जारी विज्ञप्तिका अनुसार अध्यक्ष श्रेष्ठलाई घोक्र्याइ मुन्ट्याइ गर्ने, मुक्का प्रहार गरि कुटपिट गर्ने र पालिकाको सुरक्षा दिन बसेको प्रहरीलाई समेत हातपात भएको उल्लेख गरिएको छ। कार्यालयमा रहेका गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरु दिनभर शौचालय जानसमेत नदिई गाउँपालिकाको प्रशासनिक भवन लगायतका कार्यालयहरुमातालाबन्दि गरि अपराधिक शैलीमा नजरबन्दमा राखेर अमानवीय, अराजक र कानून हातमा लिने कार्य गरेको अवस्थामा सदरमुकाम चरिकोटबाट सोहि दिनको बेलुकाको ७ बजे सुरक्षाकर्मीको टोली आएपछि मुक्त हुनु परेको उल्लेख गरिएको छ ।
विज्ञप्तिका अनुसार अपराधजन्य घटनामा चुप लागेर बसे थप अपराध गर्न उक्सिने, सरकारी कार्यालय तोडफोड भैरहने, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आक्रमण गर्ने क्रम बढ्ने हुँदा गाउँपालिकाको तर्फबाट गत भदौ १९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २६ को दफा २८५ अनुसार कारवाहीको माग गरि जाहेरी दिएको उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्तिमा अराजक उदण्ड गतिविधीका विचमा पनि उक्त समूहले पेश गरेको ज्ञापन पत्र बुझि प्रकृयागत ढंगबाट छलफल गरि समस्यालाई समाधान गरौं भन्दाभन्दै नियोजित ढंगबाट अध्यक्ष माथि भौतिक आक्रमण गर्ने र जनतालाई सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा तालाबन्दी गरि तोडफोडसमेत गरेर क्षति पुर्याउने कार्यमा चुप लागेर बस्न उचित र न्यायसंगत नभएकोले कानुनबमोजिम जानुपरेको उल्लेख गरिएको छ ।