चरिकोट १६, कातिक
दोलखाको पर्यटकीय नगरी जिरीमा खुला चेस प्रतियोगिता २०७७ हुने भएको छ । युवा सञ्जाल जिरीले जिरी नगरपालिका– ५, लिङ्कनबजारमा कात्तिक २० देखि २२ गतेसम्म ३ दिने जिरी खुला चेस प्रतियोगिता २०७७ को आयोजना गर्न लागेको हो ।
कोरोना भाईरस संक्रमणका कारण धेरै जमघट हुने खालका कार्यक्रमहरु संचालन गर्न नमिल्ने भएकाले ईन्डोर खेल चेस प्रतियोगिता आयोजना गरिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले बताउनु भयो ।
चेससम्वन्धी अन्तरराष्ट्रिय नियमन संस्था फिडेबाट मान्यता प्राप्त चेस प्रतियोगिता जिरीमा पहिलोपल्ट संचालन हुन लागेको छ । खेलाडीहरुले रेटिङ प्राप्त गर्न सक्ने प्रतियोगिताले कोरोनाको कारण आमजनमानसमा सृजित मनोबैज्ञानक त्रासलाई कम गर्नुका साथै धेरथोर मनोरन्जन समेत प्रदान गर्ने आयोजकको लक्ष्य रहेको छ ।
चेस आफैँमा ईन्डोर खेल भएकाले जोखिमको सम्भावना कम हुने गरी प्रत्येक खेलमा प्रतिस्पर्धी २ र रेफ्री गरी ३ जनामात्र हुने नियम बनाईएको अध्यक्ष खड्काले बताउनु भयो ।
जिरी नगरपालिका, नेपाल बुद्धिचाल संघ, नेपाल बुद्धिचाल संघ दोलखाको आर्थिक तथा प्राविधिक सहयोग रहने प्रतियोगिताका विजयीहरुलाई कूल रु ३७ हजार नगद पुरस्कार वितरण र फिडे रेटिङ प्राप्त गर्ने अध्यक्ष खड्काले बताए ।
प्रकाशित मिति:
आइतबार, कात्तिक १६, २०७७, १२:५१:००