फागुन २०, चरिकोट
दोलखाको २३ वटै टावरबाट नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा सञ्चालनमा ल्याइएको छ । जिल्लाको विभिन्न स्थानीय तहमा राखीएका कुल २३ टावर मध्ये सबैबाट फोरजी सेवा विस्तार भएको टेलिकम दोलखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो ।
पछिल्लो एक साताको अवधिमा मात्रै जिल्लाका ४ स्थानमा फोरजी सेवा विस्तार गरिएको छ । गौरिशंकर गाउँपालिका वडा नम्बर ८ खारेको टावरबाट, यसैगरी सिंगटी, जिरी नगरपालिकाको श्यामा र शैलुङ गाउँपालिकाको ताम्चेत दुधपोखरीमा रहेको नेपाल टेलिकमको टावरबाट फोरजी सेवा विस्तार गरिएको हो । अब जिल्लाको सदरमुकाम चरिकोट सहित विभिन्न स्थानबाट फोरजी चलाउन सकिनेछ ।
खारेमा रहेको नेपाल टेलिकमको टावरमार्फत फोरजी सेवा सुरु भएसंगै गाउँपालिकाका चंखु, मार्बु, खारे लगायतका वडाहरुमा दु्रत गतिको मोबाइल इन्टरनेट सेवा पुगेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले जानकारी दिनुभयो ।
दोलखाको उत्तरी विकट क्षेत्र वेदिङ र वैत्यश्वर गाउँपालिका वडा नम्बर ५ मैनापोखरी क्षेत्रमा भने फोरजी सेवा सञ्चालनमा छैन । यी दुई स्थान मध्ये मैनापोखरीमा फोरजी सेवा विस्तारका लागी प्रक्रिया सुरु भएको नेपाल टेलिकम दोलखाले जनाएको छ ।
नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमको फोरजी सेवा पुगेका ठाउँमा थ्रीजी चलाइरहेकाले फोरजी सेवा निशुल्क सुचारु गर्न सक्छन् । तर यसका लागि सिम चेक गर्नुपर्छ । सिमले फोरजी सपोर्ट गर्ने नगर्ने थाहा पाउनका लागि स्टार ४४४ ह्यास डायल गर्नुपर्छ ।
प्रकाशित मिति:
बिहीबार, फागुन २०, २०७७, १७:२६:००