सबै ठीकै त छ
मान्छेहरु छन्, एउटा सहर छ
सालिक भएर नै सही
दुनियाँ देख्ने रहर छ
फराकिलो आँगन सरी
एउटा आफ्नै चोक छ
माया नगरेर नै सही
तिमी छ्यौ र त सबथोक छ
त्यसैले त उभिन्छु यसैगरी
जसरी उभिएकोछु वर्षौदेखि ।
परदेश जान लागेको छोरालाई
आँखाले देखुञ्जेल हेर्न
आमा उभिए जसरी उभिन्छु
कि त
कुनै धनाढ्य अवरी मालिकको मुल ढोकामा
चौकीदारी गर्न उभिए जसरी उभिन्छु
यसैगरी उभिन्छु
मान्छेको सहरको चौकीदारी गर्छु
सहरका मान्छेको चौकीदारी गर्छु ।
अनगिन्ती सवारीसाधनका सल्याङवल्याङ
प्रत्येक पटक मेरै परिक्रमा गर्छन
र पनि सञ्चोविसञ्चो नसोधी जान्छन्
बजारेहरु हरेक बिहान जसो
मेरै पेटीमा फलफुल बेच्छन्
र पनि भोक तिर्खा नसोधी जान्छन्
र पनि म उभिईरहन्छु
एउटा परित्यक्त जिन्दगी
एउटा उपेक्षित सालिक ।
म उभिएको पेटिमा
घरीघरी थरिथरि मान्छे बस्न आउछन्
जतनले राखेर झोलामा जिन्दगीका सपनाहरु
सहर जान लागेका बटुवा बस्न आउछन्
कि त कोचेर पुरानो पत्रिका
मैला लुगा र पानीको खाली बोतल
यहि बाटो भएर आउछ कि भनि
मृत्यु कुर्न भनेर
बुढी बज्यै बस्न आउछिन् ।
थाकेका मान्छेहरु, मातेका मान्छेहरु
उठेका मान्छेहरु, फुटेका मान्छेहरु
घरीघरी थरीथरी मान्छेहरु बस्न आउछन् ।
सबै ठीकै त छ
मान्छेहरु छन् आफ्ना मान्छेहरु छन्
सहर छ आफनो सहर छ
आकलझुकल देखा पर्ने
आफ्नै एउटा छायाँ पनि छ
झरी परेको बेला सँगै झरीदिने
अलिकति तिम्रो माया पनि छ ।
फराकिलो आँगन जत्रो
एउटा आफ्नै चोक छ
अलि टाढा नै सही
तिमी छ्यौ र त सबथोक छ
र त उभिईरहन्छु म
सालिक भएर ।।।
प्रकाशित मिति:
बिहीबार, असार ३१, २०७८, १५:०४:००