चरिकोट, ७ फागुन
जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा वित्तिय साक्षरता तथा सदस्य शिक्षा शिविर दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा सम्पन्न भएको छ ।
सहकारी संस्थाको परिचय सहित संहकारी संस्थाद्धारा प्रदान गरिदै आएको सेवा तथा सुविधाका बारेमा समुदाय स्तरमा जानकारी दिने उद्धेश्यका साथ आयोजना गरिएको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । शनिवार दियालेखर्क आधारभूत विद्यालयमा भएको कार्यक्रममा सहकारीका बरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ र सञ्चालक शेरबहादुर भुजेल र पवटी सेवा केन्द्रका प्रमुख ताराबहादुर पाण्डेले सहकारी संस्थाले उपलब्ध गराउँदै आएको सेवा सुविधाका बारेमा सहभागीहरुलाई जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष श्रेष्ठले संस्थाको सदस्य बने पछि पाउँने सेवा सुविधा, वचतका फाइदा, प्रभावकारी तरिकाबाट वचत गर्ने प्रक्रिया वचत तथा ऋणका किसिम लगायतका बारेमा जानकारी दिनु भएको थियो । सो कार्यक्रममा वहाँले सहकारीका बारेमा सहभागीले राखेको जिज्ञासाहरुको जवाफ समेत दिनु भएको थियो । कार्यक्रममा सहकारी संस्थाका शिव खतीवडाले संस्थाले सञ्चालन गर्दै आएको लघुवित्त कार्यक्रमका बारेमा सहभागीलाई जानकारी दिनु भएको थियो । कार्यक्रममा सहभागी महिलाहरुले तत्काल समुह गठन लघुवित्त कार्यक्रम सुरु गर्न आग्रह गरेका छन् ।
जिल्लाको वैत्यश्वर गाउँपालिकाको मैनापोखरी बजारमा मुख्य कार्यालय रहेको जनसचेतन वचत तथा ऋण सहकारी संस्थाले दोलखा सहित बागमति प्रदेशका विभिनन पाँच जिल्लामा सेवा प्रवाह गर्दै आएको छ । ४० हजार भन्दा बढी शेयर सदस्य रहेको यस संस्थाले करिव तीन अर्व रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।
प्रकाशित मिति:
सोमबार, चैत ७, २०७८, ०८:४१:००