चरिकोट, ३० जेठ
आगामी असार १ गते हुने जिल्ला समन्वय समिति दोलखाको लागि उम्मेदवारी दर्ता गरेका छन् । समन्वय समितिको पदाधिकारी र सदस्यहरुमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धन दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पदीय भागबण्डामा सहमति भएसँगै गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको हो ।
गठबन्धन दलहरुबीच पूर्वसहमति अनुसार जिल्ला समन्वय समितिको प्रमुखमा माओवादी केन्द्र, उपप्रमुखमा एकीकृत समाजवादी र सबै सदस्य पदमा नेपाली कांग्रेसले मनोनयन दर्ता गराउने सहमति भएको छ । जस अनुसार गठबन्धनबाट प्रमुखमा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) र उपप्रमुखमा एकीकृत समाजवादीका दोर्जे शेर्पाको मनोनयन दर्ता हुने नेताहरुले जानकारी दिएका छन् ।
गत स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा माओवादी केन्द्रले धोका दिएको भन्दै कांग्रेसले जिसस प्रमुख आफुले पाउनुपर्ने दाबी गरेको थियो । तर कांग्रेस उक्त अडानबाट पछि हटेपछि पूर्वसहमति अनुसार मनोनयन दर्ता भएको छ ।
त्यस्तै नेकपा एमाले दोलखाले जिल्ला समन्वय समितिको पदाधिकारी तथा सदस्यका लागि एकल मनोनयन दर्ता गराएको छ । एमालेबाट प्रमुखमा ऋषिकेश उप्रेती र उपप्रमुखमा गोमा केसीले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटले आज जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्य पदमा मनोनयन दर्ताको कार्यतालिका सार्वजानिक गरिसकेको छ । जिसस प्रमुख, उपप्रमुख दुई जना तथा ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य चयनका लागि निर्वाचन हुनेछ । निर्वाचनमा जिल्लास्थित ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १८ जनाले मतदान गर्न पाउनेछन् । जसमा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एकीकृत समाजवादीको १ मत रहेको छ ।
प्रकाशित मिति:
आइतबार, जेठ २९, २०७९, १८:०२:००