चरिकोट १ माघ
यस बर्षको बिष्णुलक्ष्मी साहित्यिक पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार रविन्द्र तामाङ सम्मानित हुनुभएको छ । दोलखाका पत्रकार चिरञ्जीवी मास्केले आफूलाई जन्म दिने र कर्म दिने आमाहरुको सम्मान र स्मृतिमा हरेक बर्ष वितरण गर्दै आउनुभएको विष्णुलक्ष्मी तुल्सीमाया साहित्य सम्मान २०७९ बाट दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ चोथाङका तामाङ सम्मानित हुनु भएको हो ।
साहित्य कला र सिर्जनामार्फत नेपाली साहित्य क्षेत्रमा योगदान गरेको भन्दै तामाङ नगद सहित सम्मानित हुनु भएको हो । आज दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका विच बागमती प्रदेशसभा सदस्य भरत केसी र भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर मानन्धर लगायतले तामाङलाई सम्मान गर्नु भएको हो ।
यसै गरी बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले हरेक बर्ष प्रकाशन गर्दै आएको साहित्यिक पत्रिका ‘प्रदेय’ को नयाँ अंक पनि आजै सार्वजनिक भएको छ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भरत केसीले ‘प्रदेय’ को नयाँ अङ्क सार्वजनिक गर्नुभएको हो । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य केसीले कला, संस्कृति र साहित्यले समाजिक विकासमा सहयोग पुग्ने बताउनु भयो । केसीले आफू भीमेश्वर नगरपालिकाको प्रमुख हुँदा दोलखाको संस्कृति र साहित्यलाई ललितपुर र जनकपुर सम्म जोड्ने प्रयास गरेको बताउँनु भयो ।
बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष तथा कवि बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तमाङ, उपाध्यक्ष गायत्री आचार्य, पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्के, प्रमुख जिल्ला अधिकारी भोजराज खतीवडा, दोलखा साहित्य प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष दिपशंकर चौलागाँई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गजलकार जीत कार्कीले गजल वाचन गर्नु भयो । भने कवि विष्णु सुवेदीले कविता वाचन समेत गर्नु भएको थियो ।
प्रकाशित मिति:
आइतबार, माघ १, २०७९, १८:१८:००