चरिकोट, १ माघ
गौरीशंकर गाउँपालिकामा रहेको एक स्वास्थ्य संस्थामा करार अवधि थप नगरिएको भन्दै तालाबन्दी गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. १ जुँगुमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा करारमा रहेका कर्मचारीहरुले तालबन्दी गरेका छन् । गाउँपालिका अध्यक्ष र वडाअध्यक्षले आफूहरुलाई विभेदपूर्ण ढंगले हटाएको भन्दै तालाबन्दी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गाउँपालिका र वडाले कर्मचारीमाथि विभेदपूर्ण निर्णय गरेको र निर्णय नसच्याएसम्म तालाबन्दी जारी राख्ने आधारभूत स्वास्थ्य केन्द्रका अहेव अप्सरा बुढाथोकीले बताउनु भयो । सरोकार निकायले करार अवधि थप नगरुन्जेलसम्म केन्द्रमा लगाएको ताला नखोल्ने बुढाथोकीले बताउँनु भयो ।
२०७९ पुस २९ गते पालिकाको निर्णयले अहेव अप्सरा बुढाथोकी, अनमी सृजना खड्का र कार्यालय सहायक राधा खड्का खत्रीको करार अवधि थप नगर्ने निर्णय गरेको गौरीशंकर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बसन्त रेग्मीले बताउनु भयो । त्यहाँ कार्यरत कर्मचारीहरु विगत साढे दुई वर्षदेखि करारमा कार्यरत रहेका थिए । उनीहरुको तीन तीन महिनामा करार अवधि थप हुँदै आएको थियो ।
प्रकाशित मिति:
आइतबार, माघ १, २०७९, १९:००:००