चरिकोट, ५ फागुन
मेलुङ गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुका लागि मेलुङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली,अनलाइन तथ्यांक संकलन र कोभिड १९ क्युआरकोड प्रमाणिकरण सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिकाको स्वास्थ्य शाखा द्वारा संचालन गरिएको उक्त कार्यक्रममा गाउँपालिका भित्र रहेका १० स्वास्थ्य संस्थामा कार्यरत १६ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । फागुन २ गते देखि ४ गते सम्म संचालन भएको तालिममा मेलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईं र जिल्ला स्वास्थ्य कार्यालय दोलखाका स्वास्थ्य तथ्यांक प्रमुख राजन चालिसेले सहजिकरण गर्नु भएको थियो ।
तालिम पश्चात् स्वास्थ्य संस्था सँग सम्बन्धित तथ्यांकको रिपोर्टिङ गर्ने तथा कोभिड १९ क्युआरकोड प्रमाणिकरण गर्न सजिलो हुनुका साथै स्वास्थ्य संस्थामा भएका अन्य गतिविधिहरुको रेकर्ड राख्न थप सहयोग पुग्ने उ्द्देश्यले मेलुङ गाउँपालिकाले पालिका भित्रका ५ वटा स्वास्थ्य चौकी र २ वटा आधारभूत स्वास्थ्य केन्द्रलाई एक/एक थान ल्यापटप समेत उपलब्ध गराएको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा मेलुङ गाउँपालिकाकि उपाध्यक्ष गायत्री आचार्य, मेलुङ गाउँपालिकाका प्रवक्ता एवम वडा नम्बर ७ का वडा अध्यक्ष नवराज खड्का, सामुदायिक विकास समितिका संयोजक एवम वडा नम्बर १ का वडा अध्यक्ष इश्वर कोइराला,मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय शिवाकोटी र मेलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईंले मन्तव्य राख्नु भएको थियो ।
प्रकाशित मिति:
शुक्रबार, फागुन ५, २०७९, १३:१६:००