दोलखाको विगु गाउँपालिकाको विभिन्न वडामा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. र विगु गाउँपालिकाको आयोजना र समुन्द्र नेपालको सहयोगमा शिविर आयोजना गरिएको हो ।
दोलखाको दुर्गम गाउँ मानिने विगु गाउँपालिकाको खोपाचागु हेल्थपोष्ट विगु ८ र सामुदायिक स्वास्थ्य इकाई विगु–५ खार्तालमा आजदेखि २ दिनसम्म स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा विशेषगरी पाठेघर तथा प्रजनन् स्वास्थ्य र जनरल स्वास्थ्य जाँच सम्बन्धि निशुल्क परीक्षण तथा औषधि वितरण गरिने आयोजकले जनाएको छ ।
आजदेखि सुरु भएको शिविरमा विगु गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष हिरा थामीको अध्यक्षता र विगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हेमन्त चौलागाई, समुन्द्र नेपालका परियोजना संयोजक रमेश दाहाल र विगु गाउँपालिका स्वास्थ्य शाखा संयोजक रत्न थामीले मन्तव्य व्यक्त गर्नुभएका थिए ।
प्रकाशित मिति:
सोमबार, फागुन ८, २०७९, १८:५२:००