दोलखाको शैलुङ थुम्कामा निर्माण गरिएको शैलुङ बोधिचैत्य छ्योर्तेन उद्घाटन गरिएको छ । दोलखा र रामेछाप जिल्लाको संगमस्थल शैलुङडाँडामा निर्माण गरिएको उक्त शैलुङ ज्याङ्छयुब छयोर्तेन उद्घाटनको गरिएको हो । धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल शैलुङमा छयोर्तेन टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको सदिक्षा र संरक्षणमा शैलुङ रिगसुम गोन्पो सेवा समाजद्धारा निर्माण सम्पन्न भएको छ । उक्त छयोर्तेन आज एक समारोहकोबीच शैलुङ ज्याङ्छयुब (बोधिचैत्य) को प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका शरण नायक परमपावन गुरु क्याब्जे सेचेन रब्ज्याम रिपोन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठानसहित शुद्धिकरण सुप्राणप्रतिष्ठा गरिएको शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कृष्ण कुमार थोकरले बताउनु भयो ।
यस शैलुङ बोधिचैत्य निर्माणको लागि दोरम्बा–शैलुङ गाउँपालिका रामेछाप, दोलखाको शैलुङ र मेलुङ गाउँपालिका, जनप्रतिनिधिहरु, लोपेन सोनाम लामा, शैलुङ शेर्पा समाज र सर्वसाधारणले समेत सहयोग गरेका छन् ।
२०७३ भदौ २३ गतेबाट निर्माण कार्य थालनी गरिएको शैलुङ बोधिचैत्य हाल भर्खर मात्र सम्पन्न भएको छ । उक्त छयोर्तेन लगभग तीन करोड ३० लाख लागतमा निर्माण सम्पन्न भएको शैलुङ रिगसुम गोन्पो सेवा समाजका महासचिव कृष्ण कुमार थोकरले बताउनु भयो ।
प्रकाशित मिति:
बुधबार, फागुन १७, २०७९, १७:२७:००