दिनानुदिन हजारौ युवाहरु विदेशीने गर्छन् । स्वदेशमै कुनै किसिमका रोजगार नपाउँदा र आफ्नो सीप नहुँदा यी समस्याहरु दोहोरिरहेका छन् । यिनै समस्याहरुलाई मनन गर्दै स्वदेशमै युवाहरुलाई सीप प्रदान गरेर रोजगार प्रदान गर्ने उद्देश्यले जिल्ला युवा समिति दोलखाले ३९० घण्टा निशुल्क तालिमको आयोजना गरिएको छ ।
तालिम प्रदायक संस्था कान्तिपुर बहुप्राविधिक शिक्षालय भरतपुर र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र हेटौडाद्दारा प्रदान गरिने तालिममा दोलखाका ५० जना युवाहरु सहभागी रहेका छन् । दोलखाको प्रर्यटन प्रर्वधन गर्न र पर्यटकलाई समुदायमैत्री बनाउनको लागि होमस्टेमा बसाउने चलन बढ्दै गएको छ । घण्टा तालिममा २५ जना युवाहरुलाई होमस्टे तालिम प्रदान गर्न थालेका हुन् । त्यस्तै कफी पारखीहरुलाई गुणस्तरीय र स्वादिष्ट खुवाउन सक्ने खालका सक्षम बनाउन लागि २५ जना युवाहरुलाई बारिष्टा (कफी मेकर) तालिम पनि यसै ३९० घण्टा तालिमअन्तरगत सञ्चालनमा ल्याएको छ ।
तालिम उद्घाटन जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षता र बागमती प्रदेशका वन तथा वातावरण पूर्वमन्त्री विशाल खड्काको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुल बहादुर बुढाथोकी, अधिवक्ता कृतिनाथ शर्मा र प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्काले मन्तव्य व्यक्त गर्नुभएका थिए । तालिमपश्चात उत्कृष्ट र व्यवसायी सञ्चालन गर्न चाहने युवालाई प्रदेश युवा समितिले अनुदान स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने जिल्ला युवा समितिका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनु भयो ।
प्रकाशित मिति:
सोमबार, फागुन २२, २०७९, १४:३२:००