सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाको सातौ अधिवेशन सम्पन्न भएको छ । दोलखामा सामुदायिक वनहरुको अवस्था र चुनौतीको विषयमा बहस छलफल गर्दै अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको हो ।
अधिवेशन उद्घाटन समारोहमा बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईले जोसँग समन्धित छ उनीहरूकै उपस्थितिमा कानून बनाउनु पर्ने थियो, वन सम्वद्र्धन र व्यवस्थापन गर्ने उपभोक्ताले नै हो । हिजोको दिनमा बनाएका कतिपय कानून परिमार्जन गर्नु पर्नेछ र गर्नुपर्छ । उपभोक्ता समितिले पनि आफूले बनाएका महत्वपूर्ण दस्तावेज विधान र कार्ययोजनाको पूर्ण रुपमा अध्ययन र पालना गर्नुपर्छ । समूहका केही कमिकमजोरी भए होलान् तर धेरै सकारात्मक काम पनि भएका छन् । नराम्रा कामलाई सुधार गर्दै राम्रा कामलाई थप गर्दै जानु आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रम जिल्ला महासंघ दोलखाका अध्यक्ष जगनाथ बस्नेतको अध्यक्षता र बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य ठूला थामी, मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकर, वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, विगु गाउँपालिका अध्यक्ष सञ्जिव ओली, उपाध्यक्ष देविका थामी, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, डिभिजन वन कार्यालय दोलखाका प्रमुख थीर बहादुर कार्की, फेकोफन केन्द्रीय पूर्वअध्यक्ष गणेश कार्की, जिल्ला महासंघ दोलखाका उपाध्यक्ष ज्ञानेन्द्र प्रधान पत्रकार जीवन लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनको उद्घाटन सत्रमा समुदायको जोगाएको र हुर्काएको वन अवस्था र कानुनी विषयमा डा दिल खत्री, डा गोविन्द पौडेल र भोला खतिवडाले सहजीकरण गर्नुभएको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघको विभिन्न तहतप्कामा रहेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरेका र निर्वाचित जनप्रतिनिधिहरु ठूला थामी, छवि लामा, कमला बस्नेत, गायत्री आचार्यलाई सम्मान गरिएको थियो । त्यस्तै फेकोफन दोलखाका पूर्वअध्यक्ष सीता केसी र पत्रकार केदार शिवाकोटीलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित मिति:
सोमबार, वैशाख २५, २०८०, १७:५४:००