संरक्षित सूचिमा रहेको रेडपाण्डाको संरक्षणको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय दोलखाको आयोजना र चरिकोट मिडिया फाउण्डेशनको संयोजनामा एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
दोलखाको उत्तरी क्षेत्रमा रेडपाण्डा बढी पाईने भएकाले यसको संरक्षण र प्रवद्र्धनको लागि सचेतना अभियान सञ्चालन गरिएको हो । दुई हजारभन्दा माथिको उचाईमा पाईने र निगालाघारी यसको बासस्थान भएकाले उपयुक्त स्थान दोलखाको उत्तरी क्षेत्र हो । विकास निर्माणको क्रममा सडक र जलविद्युत आयोजना जस्ता कार्यले यसको जीवनशैलीमा प्रभाव पार्ने भएकाले स्थानीय समुदायलाई जिम्मेवार बनाउन सचेतना कार्यक्रमले टेवा पुग्ने गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका सिनियर रेञ्जर प्रमोदराज रेग्मीले बताउनु भयो ।
रेडपाण्डा संरक्षणमा सरोकारवालाहरुको स्थलगत संरक्षणमुखी सचेतना कार्यक्रम विगु गाउँपालिका वडा नं. ४ सिंगटीमा भएको थियो । कार्यक्रममा विगु गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक देविका थामीले स्थानीय सरकारले वन्यजन्तु संरक्षणसम्बन्धी कानुन निर्माण गरेर यसको संरक्षण र प्रवद्र्धनमा कार्य गर्ने बताउनु भयो । विगु गाउँपालिका र गौरीशंकर क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारको लागि पनि संरक्षित वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्न आवश्यक रहेको उपाध्यक्ष थामीले बताउनु भयो । कार्यक्रममा विभिन्न सामुदायिक वन र कवुलियती वन उपभोक्ता समूहका अध्यक्ष, प्रतिनिधि, गौरीशंकर संंरक्षण क्षेत्र आयोजनाका व्यवस्थापन समितिका अध्यक्ष, प्रतिनिधिहरु र सरोकारवालाहरुको उपस्थिति रहेका थिए । त्यस्तै कार्यक्रममा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका सिनियर रेञ्जर प्रमोदराज रेग्मीले रेडपाण्डाको वर्तमान अवस्था र भावी दिनमा संरक्षणको लागि स्थानीय समुदायले खेल्नु पर्ने भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति:
आइतबार, वैशाख ३१, २०८०, ०९:३०:००