चरिकोट, बैशाख ६
स्थानीय तहका निर्वाचन आउन करिव तीन साता बाँकी रहँदा दोलखामा राजनीतिक दलहरुलाई उम्मेद्धवार चयन गर्ने चटारो बढेको छ ।
मनोनय दर्ता गर्ने दिन नजिकिदै गर्दा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी सिट बाँडफाँडको अन्तिम तयारीमा छन् भने नेकपा एमाले भने एक्लै गठबन्धनको सामना गर्ने तयारीमा लागि जुटेको छ ।
नेपाली कांग्रेसले भीममेश्वर नगरपालिकाको मेयरमा ईश्वर मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार सदरमुकाम चरिकोटमा सम्पन्न बैठकले मानन्धरलाई मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो । मानन्धर २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नेपाली कांगेसबाट मेयर पदमा प्रत्याशी हुनुहुन्थ्यो । काँग्रेस जिल्ला सभापति बर्मा लामा भने मेलुङ गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेद्वार बन्नु हुने भएको छ ।
नेपाली कांग्रेसले विगु गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वारमा दावा साङगे शेर्पालाई सर्वसम्मत सिफारिस गरेको छ । शेर्पा नेपाली कांग्रेस दोलखाका सचिव हुनुहुन्छ ।
यस्तै नेकपा माओवादी केन्द्रले हालसम्म चार स्थानीय तहका लागि आफ्ना उम्मेद्वार छनोट गरेको छ । नेकपा माओवादी केन्द्रले तामाकोशी गाउँपालिकाको अध्यक्षमा सन्तोष केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी माओवादी केन्द्रले कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा कुल बहादुर बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्कालाई उम्मेदवार चयन गरेको छ ।
गौरीशंकर गाउँपालिकाको अध्यक्षमा विश्वास कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेलुङ गाउँपालिकाको अध्यक्षमा भने शंकर लामालाई अघि सारेको छ । माओवादी केन्द्रले विगु गाउँपालिकामा सञ्जिव वलीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।
उता प्रमुख प्रतिपक्ष नेपका एमाले भने उम्मेद्वार चयनका लागि छलफल र बैठकमा व्यस्त रहेको छ । माओवादी केन्द्र र एकिकृत समाजवादी सिट बाँडफाँडको अन्तिम तयारीमा जुटेको बेला नेकपा एमाले भने एक्लै गठबन्धनको सामना गर्ने तयारीमा जुटेको छ । गत निर्वाचनमा जिल्लाको नौं मध्य सात गाउँपालिकाको नेतृत्व गरेको एमाले यस पटक नौं वटै पालिका जित्ने प्रयत्नमा जुटेको छ ।