धार्मिक आख्यानहरू केवल कथामात्र होइनन् । ती जनजीवनसँग गाँसिएका, जोडिएका जीवित स्मृति पनि हुन् । दोलखा, जसलाई हिमाली सौन्दर्य, ऐतिहासिक गौरव र संस्कृतिको संगमस्थल मानिन्छ । यतिखेर सीताको पदचिह्नमा भरिएका स्थलहरूका कथाले झन् गहिरो अर्थ पाउँछन् । यस जिल्लाका विभिन्न भीरपाखा, खोलानाला, वनजंगल र डाँडाकाँडाहरुमा सीताको पाइला गुञ्जिरहेझैं लाग्छ ।
यही शिलशिलामा दोलखाको विभिन्न स्थानमा पुुग्ने र त्यहाँ स्थलगत अध्ययन, अनुसन्धान गर्ने अवसर पनि जुर्यो । यही क्रममा तामाकोशी गाउँपालिकाको सीतापाइला, शैलुुङ गाउँपालिकाको फस्कुमा रहेको सीताको चुल्हो, भीमेश्वर नगरपालिकाको सिताकुण्ड र बोचको छिताकुुण्ड (सीताकुण्ड), गौरीशंकर गाउँपालिका अन्तरगत रामले सीतालाई पानी खुवाउन पहरामा वाण हानेर निकालिएको ७ धारा लगायतका स्थानमा पुुगेको थिए । भीमेश्वर सामुदायीक विकास संस्थाका अध्यक्ष तथा इतिहास अध्यता शान्तकृष्ण श्रेष्ठ, दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठ र प्रतिष्ठानका सचिव सुन्दर खड्का लगायतका टिम थियौ ।

सीता पाइला
तामाकोशी गाउँपालिका वडा नं. ३ स्थित जफेको यात्राको क्रममा, एउटा ढुंगामा उभिएर हेर्दा देखिन्छः खुट्टाको पाइतालाको आकार । स्थानीयले यसलाई “सीता पाइला” भनेर श्रद्धासाथ पुकार्छन् । जनश्रुतिअनुसार, वनवासका क्रममा सीता यहीँबाट हिडेकी थिइन् । ढुंगामा स्पष्ट महिलाको खुट्टाको छाप देखिन्छ, जुन श्रद्धालुका लागि पूजा गर्ने थलो बनेको छ । जफे होम कुमारी पोखरेलले यहाँ दैनिकजसो त्यो छापमा फूल चढाएर इच्छापूर्तिको कामना गर्नुुहुन्थ्यो । त्यहाँ पुग्दा लाग्छ कथा मात्र होइन, इतिहास जीवित छन् । पाइताला साक्षी छन् ।

सीताको चुलो
शैलुुङ गाउँपालिका फस्कुमा रहेको ढुंगाको आकृति अद्भुत छ । मानिसहरू विश्वास गर्छन्, सीताले यहीँ चुलो बनाएर खाना पकाएकी थिइन् । आज पनि ती तीन वटा ढुंगा हेर्दा चुलोको आकार प्रकार देखिन्छ । अहिले पनि संरक्षण गरेरै राखिएका छन् ती चुलो । “सीताको चुलो” भनेर चिनिने यो स्थान विशेष पर्वमा पूजा गरिन्छ, खासगरी महिलाहरूले सीताको पवित्रता र सहनशीलताको प्रतीकका रूपमा मान्छन् । नजिकै सीताको मन्दिार निर्माण गरेका छन् । साथै सीताले चामल धुएको धारा भनेर चौलानी पानी झैं झर्ने ढुुंगाको धारा पनि यथावत नै छ । केही वर्ष अघिसम्म त्यस धारामा चौलानी जस्तै पानी आउथे रे । अहिले भने पानीनै सुुकेको छ ।
राम–लक्ष्मणडाँडा
राम, लक्ष्मण र सीता सँगै वनवासी यात्रामा थिए भन्ने धार्मिक विश्वासअनुसार, कालिञ्चोकतर्फ जाने पुरानो गोरेटोमा “रामडाँडा” र “लक्ष्मणडाँडा” भन्ने स्थानीय नाम प्रचलित छन् । ती डाँडाहरूमा कहिलेकाहीँ पुराना ढुंगे थान, जाँड–धानको भकारी झैं देखिने संरचना भेटिन्छ, जसलाई स्थानीयहरूले पूजास्थल मान्छन् । सम्भवतः ती रामायणकालीन यात्राका सम्झनाहरू हुन्, जसले हामीलाई पौराणिक बाटोको झल्को दिन्छ ।
सीता फड्के
जनश्रुति अनुसार, “सीता फड्के” भन्ने ठाउँ पनि दोलखामा छ, जहाँ सीताले पर्खालजस्तो डाँडाबाट अर्को पाखामा फड्केकी थिइन् भन्ने भनाइ छ । डाँडाबाट हेर्दा लाग्छ — सीतामा असम्भव पार गर्ने शक्ति थियो । त्यही शक्ति जन–आस्थाको प्रतीक बनेर यत्रतत्र बचेर बसेको छ । जफे सीता पाइलाबाट मेलुुङ गाउँपालिका–४ भेड्पूमा पर्ने झरना नजिकै सीता फड्के पर्दछ ।

सीता कुण्ड
भीमेश्वर नगरपालिका–५ विरुवा नजिकै पर्दछ सीता कुण्ड । केही वर्ष अधिसम्म यस कुण्डमा पानी रहन्थ्यो । अहिले भने सुकेको देखिन्छ । तर, पानी सुके तापनि कुण्ड भने संरक्षित अवस्थामा देखिन्छ । त्यही कुण्ड नजिक ढुंगाको शिला र शिलालेख समेत संरक्षित अवस्थामै देखिन्छ । यस स्थानलाई स्थानीयले सीताकुण्ड नामले चिनिन्छ । यस वडामा रहेको सामुदायिक वनको नाम समेत सीता कुण्ड सामुदायिक वन भनेर नामाकरण गरिएको छ ।
.jpg)
छिता (सीता) कुण्ड
भीमेश्वर नगरपालिका–७ बोचमा छिता (सीता) कुण्ड देखिन्छ । स्थानीयले छिता कुण्डामाइ भने तापनि सीताकै अर्थ लाग्ने गर्छ । गाउँवस्तीबाट केही टाढा जंगलभित्र भीरमुनि कुण्ड देखिन्छ । जहाँ बाह्रैमास पानी रहन्छ । यस कुण्डमा रहेको पानी अहिलेसम्म नसुकेको स्थानीयको भनाई छ । वडा कार्यालयले यसको संरक्षणको लागि बाटो र मन्दिर समेत निर्माण गरेका छन् । वर्षमा एक पटक यहाँ छिता कुण्डको पूजाको साथै मेलासमेत लाग्ने गर्छ । स्थानीय धन बहादुर बुढाथोकीको अनुसार यस ठाउँमा माघेसंक्रान्तिको समयमा पूजा गर्ने गर्छन । काटमार हुँदैन ।

सीता (७ धारा)
गौरीशंकर गाउँपालिका–९ गौरीशंकरको सिमीगाउँ नजिकै ठूलो भीरमा ७ धारा देखिन्छ । जुन पहाड फोरेर निस्केको छ । स्थानीयको भनाई अनुसार रामले सीतालाई पानी खिलाउन रामवाण हानेर पानी निकालेको भनिन्छ । छ्योतछ्योत झरना नजिकै ठूलो पहाडबाट ७ धाराबाट पानी झरेको देखिन्छ । सीता बिरामी हुुँदा पानी खुवाउनको लागि रामले ७ ठाउँमा वारी र पारीबाट घुँडा टेकेर हानेको हुँदा ७ धारा निस्केको स्थानीय ले बताउनुु भयो । साथै यहाँ ठोङठोङ नजिकैको गाउँमा सीता ओढार पनि छ । जहाँ सीता बिरामी हुँदा रामले ओढारमा राखेको स्थानीयको भनाई छ । साथै लाप्ची जाने बाटोमा राम लक्ष्मण हिडेको, बसेको भन्ने भनाई छ । लाप्ची जाने बाटोमा कुकुरराजाको भीरमा रामले धनुवाण राखेको स्थान पनि छ । बौद्धमार्गीहरु यस क्षेत्रमा गुरुरेम्पोछेले बज्र प्रहार गरेर पानी निकालिएको पनि भन्ने गर्छन् ।
भीमेश्वर क्षेत्र–रामायणको विश्रामस्थल
भीमेश्वर मन्दिर क्षेत्रलाई कतिपय धर्मगाथामा राम–सीता–लक्ष्मणको विश्रामस्थल भनेर पनि वर्णन गरिन्छ। यहाँको शक्तिशाली हनुमान मन्दिर, विष्णुका प्रतीक झल्काउने पूजास्थल र कालिञ्चोक दर्शन मार्गसँगको सम्बन्धले यस क्षेत्रलाई अध्यात्मिक रूपमा समृद्ध बनाएको छ ।
समाप्तिमा...
दोलखा केवल प्राकृतिक सौन्दर्यको भण्डार मात्र होइन; यो पौराणिक, ऐतिहासिक भण्डार पनि हो । आस्थाको पनि थलो हो । सीताको कहानी, पाइलाहरु किताबको पानामा मात्र होइन पहाड, भीर र ढुंगा ढुंगामा छ । सीताको चुलो अझै पनि नारी शक्ति र सहनशीलताको आगो बालिरहेजस्तो लाग्छ । अनि जफे, फस्कु, बोच, गौरीशंकर, भेड्पू, कालिञ्चोकतिर हेर्दा लाग्छ—रामायणको कथा कतै धेरै टाढा होइन, हाम्रो गाउँको वन जंगल, खोलानाला। भीरपाखामै लुकेको छ । यसको खोज, अध्ययन, अनुसन्धान गरी अभिलेख गर्न आवश्यक देखिन्छ । इतिहासलाई जीवन्त बनाउन स्थानीय सरकार, सरोकारवाला निकायको भूमिका रहन्छ । यसलाई बेलैमा संरक्षण, सम्वद्र्धन गर्न सकेमा सबैको ध्यान तान्न सजिलो हुनेछ ।
