शान्ति नीहारिकाको दोस्रो कृति ‘पृथुला’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । साथै उहाँका गजलहरूको एकल सांगीतिक प्रस्तुति ‘नीहारिका गजल गुञ्जन, २०८३’ समेत भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रम राष्ट्रिय नाचघरको मिनी हलमा सम्पन्न भएको हो । ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि.सं. २०८०–२०९०’ अभियानअन्तर्गत आयोजना गरिएको यो कार्यक्रम नारी गजलकारका सिर्जनालाई सांगीतिक रूपमा प्रस्तुत गर्ने श्रृंखलाको तेस्रो संस्करणका रूपमा हेरिएको छ ।

यसअघि यही अभियानअन्तर्गत ‘राधा कणेल गजल साँझ, २०८२’ गत ६ भदौमा काठमाडौंमा तथा ‘रश्मि गजल गुञ्जन, २०८२’ गत २७ पुसमा झापामा सम्पन्न भएका थिए । ‘राधा कणेल गजल साँझ’मा सन्तोष श्रेष्ठको सङ्गीत तथा जलजला परियारको स्वर रहेको थियो भने ‘रश्मि गजल गुञ्जन’मा सन्तोष श्रेष्ठकै सङ्गीत र स्वर रहेको थियो ।
‘नीहारिका गजल गुञ्जन, २०८३’ मा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक राजकुमार सुन्दास तथा गायिका जलजला परियारले सुमधुर प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले राष्ट्रिय नाचघरको मिनी हललाई गजलमय बनाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रा.डा. देवी नेपाल उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको आयोजना दियालो साहित्य सरगमले गरेको थियो भने सभाध्यक्षता शान्ति शर्माले गर्नुभएको थियो ।
कृति ‘पृथुला’ माथि कवि शकुन्तला जोशीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा हेम प्रभाष, रिमा के.सी. तथा एम.पि. पाण्डेले कविता वाचन गर्नुभएको थियो ।
त्यसैगरी साहित्यकार बलराम दाहाल, सर्जकका काका भविन्द्र खत्री, रेणुका सोलु तथा लेखक एवं सञ्चारकर्मी रोहित भण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।