चरिकोट, २७ बैशाख
गौरीशंकरबासीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्न अध्यक्ष पदमा उम्मेरदवारी दिएको गौरीशंकर गाउँपालिकाका अध्यक्ष पदको उम्मेदवार जंग बहादुर गुरुङले बताउनु भएको छ ।
सक्षम, योग्य, कुसल, व्यवसायिक योजना र दक्षता भएका जंग बहादुर गुरुङले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, उद्योग, कृषि, पर्यटन र जलविद्युतको विकासको माध्यमबाट सबै नागरिकलाई रोजगारीको व्यवस्था गर्न सकिने बताउनु भएको हो । नेकपा एमालेको स्थानीय सरकारले विगत ५ वर्षमा गरेका कामको समीक्षासहित बाँकी कामहरुलाई पूरा गर्दै देशकै नमूना र उदाहरणीय गाउँपालिका बनाउने योजना आफुसँग भएको दाबी गर्नु भएको छ ।
गौरीशंकर गाउँपालिका आरोहीहरुको जन्मथलो वेदिङदेखि देशकै लोपोन्मुख एक मात्र आदिवासी जनजाति सुरेलको बसोबासले गाउँपालिकाको फरक पहिचान छ । यस पालिकामा च्छोरोल्पा हिमताल, नेपालको समय प्रमाणीकरणको मापक गौरीशङ्कर हिमालसँगै प्रचुरमात्रामा पर्यटन विकासको सम्भावनानै सम्भावना भएका सम्पदाहरु छन् । जलविद्युतका दृष्टिकोणले गाउँपालिका मुलुककै अग्रस्थानमा रहेको छ । आफूसँग दूरदर्शी योजना भएकै कारण अध्यक्षको उम्मेदवारी दिएको गुरुङले बताउनु भयो ।
वि.स. २०५२ सालदेखि व्यवसाय शुरु गर्नु भएका गुरुङले दोलखालगायत विभिन्न जिल्लामा जडिबुटीको व्यवसाय गर्दै आउनु भएको छ । व्यवसायको माध्यमबाट करिव पाँच सय नागरिकलाइ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी दिन सफल हुनु भएको छ । वि.स. २०५६ सालमा काप्ती खोला जलविद्युत आयोजनाको अध्यक्ष भएर जलविद्युत उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । यिनै सफल व्यवसायिक अनुभवका कारण हाल उहाँ घरेलु महासंघ दोलखाको अध्यक्षको भूमिकामा रहनु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको जिल्ला अध्यक्ष र दोलखा गुरुङ तमु समाजको महासचिव पदमा रहेर जिम्मेवारी बहन गरिरहनु भएको छ ।
वि.स. २०४६ सालमा शान्ति आर्दश माध्यमिक विद्यालय लादुकमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा १४ वर्षको उमेरमा अनेरास्ववियू प्रारम्भिक कमिटिको सचिवको जिम्मेवारी सम्हाल्दै औपचारिक रुपमा राजनीतिक यात्राको शुरुवात गर्नुभएको हो । २०४७÷४८ मा कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटमा अध्ययन गर्दा अनेरास्ववियू जिल्ला कमिटि सदस्य बन्न सफल हुनुभयो । वि.स.२०५१ सालमा युवा संघ जिल्ला कमिटि दोलखाको सदस्य र तीन वर्ष क्षेत्रीय कमिटि सदस्यसहित नौ वर्ष युवा संघमा रहेर काम गर्नु भएको अनुभव छ गुरुङसँग । वि.स. २०५२ सालमा नेकपा एमाले सुरी गाउँ कमिटिको सदस्य हुँदै निर्वाचन क्षेत्र नं १ को उपाध्यक्षको जिम्मेवारी समेत बहन गर्नु भयो ।
नेपाल संघीय संरचनामा गएपछि नेकपा एमाले गौरीशंकर गाउँपालिका गाउँ कमिटिको सचिव हुँदै हाल अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएको छ । नेकपा एमालेको स्थानीय सरकार गठनपछि गाउँपालिकामा नै बसेर स्थानीय विकासको सारथी बन्दै आउनु भएका गुरुङ सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ ।