५ वर्षे कार्यकाल पूरा गरि आज तामाकोशी गाउँपालिकाको अध्यक्षको जिम्मेवारीबाट औपचारिक रुपमा विदा भईयो । कार्यकाल सफल भएको ठानेको छु । कठिन परिस्थितिकाबीच ५ वर्षअघि अमूल्य मतदान गरेर गाउँपालिकाको विकास र जनताको सेवा गर्ने मौका प्रदान गर्नुभएकोमा तामाकोशी गाउँपालिकाका मतदाता बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुप्रति आभारी छु । साथै कार्यकाल सफल पार्न सघाउनु हुने उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँसभाका सम्पूर्ण सदस्यहरु र कर्मचारीहरुलाई धन्याद दिन चाहन्छु । रातो मुख, ठूलो स्वर र असहमति (नोट अफ डिसेण्ट) नगरी ९८ वटा कार्यपालिका बैठक र १० वटा गाउँसभा सर्वसम्मतिमा सम्पन्न भए ।
कर्मचारीहरुसँग अत्यन्तै सहयोगी भावनाका साथ कार्य सम्पन्न गरियो । राजनीतिक दलहरुबाट रचनात्मक सहयोग प्राप्त भयो । आम तामाकोशी निवासी जनसमुदायको सकारात्मक सहयोग प्राप्त भयो । आमसञ्चार जगतबाट सुरुवाती चरणमा सम्प्रेषण भएका एका दुई मिथ्या प्रचार बाहेक शतप्रतिशत सहयोग प्राप्त भयो ।
समग्र गाउँपालिकाको प्रशासनिक तथा अन्य भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, सिंचाइ, खानेपानी, पिकनिक स्थल, खेलमैदान, हाटघर, मठमन्दिर, गुम्बा, चर्च, सडक, निर्माण भए अस्पताल सञ्चालन, ज्येष्ठ नागरिक मिलन केन्द्र, कृषिउपज संकलन तथा दूध चिस्यान केन्द्र, कृषिमा व्यवसायीकीकरण र यान्त्रिकरणको सुरुवात गरियो । पाँचवटा स्वास्थ्य प्रयोगशाला (हेल्थ ल्याव) पाँचवटा सामुदायिक स्वास्थ्य इकाइ निर्माण र सञ्चालन गरियो ।
१९ सुकुम्बासी परिवारलाई जग्गाधनी पुर्जासहित जग्गा प्रदान गरि सुकुम्बासी मुक्त गाउँपालिका घोषणा गरियो । पारदर्शिता, विधि पद्दति र कानूनलाई सर्वाेपरि ठानेर राजनीतिक बलमा कुनै गैरकानूनी निर्णय गरिएन । सुशासनका क्षेत्रमा ज्येष्ठ नागरिक, अशक्त, महिला र बालवालिकाका क्षेत्रमा प्रशस्त प्रयासहरु गरिए । कोभिड १९ को सन्दर्भमा जनताहरुलाई उच्चतम सेवा प्रदान गरियो । कार्यपालिकाको निर्णयबिना अध्यक्षको तोकआदेशबाट एक रुपैयाँ पनि खर्च गरिएन । प्रथम बैठकबाट नै जनप्रतिनिधिलाई पेश्की बन्देज गरियो। अनुचित भ्रमणहरु भएनन ।
विद्यालयहरु कम्प्यूटर ल्याव, साइन्स ल्याव, स्मार्ट टेलिभिजन, प्रिण्टर, प्रोजेक्टरले सम्पन्न भए । फर्निचर अभाव छैन । केहीलाई छोडेर विद्यालय घेराबार सम्पन्न भए । निजी श्रोतका शिक्षकहरु करिब ८० जना रहेको क्रोनिक समस्या समाधान गरियो । गाउँपालिकाले मावि र आधारभूत ८ कक्षा भएका विद्यालयहरुका लागि १९ र कृषि कलेजका लागि २ दरवन्दी स्वीकृत गरी आवश्यक विद्यालयमा वितरण गरियो । जिल्लामै पहिलो पटक वडा नं ५ शहरेमा खानेपानीका लागि दुईवटा डीपवोरिङ सम्पन्न भए । अब वितरण गर्दा पुग्छ । सिंचाइका लागि तामाकोशीबाट पानी तान्ने काम दुई वटा सम्पन्न भए, एउटा यसै आवमा सम्पन्न हुँदैछ ।
ऐन, कानून र कार्यविधि करिब ४४ वटा बनेका छन् । न्याय सम्पादनतर्फ झण्डै ९० वटा मुद्दा मिलापत्र भएका छन भने एउटा मुद्दा फैसला भएर कार्यान्वयन भएको छ । ५ वर्ष गरिएका कामहरु फेसबुक वालमा लेखेर सकिन्न । त्यसैले समग्र पाँच वर्षमा भए गरेका कामहरु समेटेर तामाकोशी आवाज नामक पुस्तक सार्वजनिक गरेका छौं । अध्ययनका लागि हार्दिक अनुरोध गर्दछु । साथै २८ मिनेटको भिडियो÷डकुमेण्ट्री युट्युवमा छ त्यो पनि खोजी खोजी हेर्न सकिन्छ ।
जहाँसम्म सम्पत्ती विवरणको कुरा छ निम्नअनुसार छः खेतबारी करिव १० रोपनी जफे, २०६७ सालतिर खरिद गरेको १३३ वर्गमिटरको घडेरी भीनपा ६ नम्बर वडामा । श्रीमतीसँग करिव १ तोला सुन । जफेमा एउटा कच्ची दुईतले पुरानो र एउटा पक्की दुईतले घर । माथिल्लो तामाकोशी जविआमा शेयर ४८ कित्ता , कृषि विकास बैकमा ३५ कित्ता शेयर । गुमुखोला क्रसर उद्योगमा १८ प्रतिशत शेयर । बैक व्यालेन्स ३०,०००। सहकारीबाट ऋण लिएर खातामा जम्मा गरि राखेको ४,८५,०००।
ऋण तर्फः–
भिजन सहकारी १४ लाख, अर्काे सहकारी ५ लाख ।
छोरा र श्रीमतीले घर बनाउँदा विभिन्न सहकारी र व्यक्तिहरुबाट लिएको ऋण अनुमानित ३० लाख ।
अन्त्यमा,
पाँच वर्षे कार्यकाल सफल पार्न सघाउनु हुने सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा पनि निष्ठापूर्वक जनताको सेवामा लागि रहने प्रण गर्दछु । धन्यवाद ।