वर्षमा एउटै गाउँमा २३ लाखको माउण्टेन डिउ (पेय पदार्थ) खान्छन् भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । मेलुङ गाउँपालिका वडा नं. ३ साविक घ्याङसुकाठोकर गाविसमा वर्षमा २३ लाखभन्दा बढीको माउण्टेन डिउ बिक्री हुने गर्छ ।
गाउँमा जाँडरक्सी र चिया खान छाडेपछि माउण्टेन डिउ प्रयोगमा आउन थालेको हो । विवाह, पूजा, चाडपर्व, देवाली, मेलापात, जात्रा र घरमा आएका पाहुनालाई माउण्टेन डिउको प्रयोग गर्न थालेपछि एकै घरका मान्छेले वर्षमा २३ हजारभन्दा बढीको माउण्टेन डिउ प्रयोग गरेको स्थानीय अशोक कुमार कार्कीले बताउनु भयो । चियाको साटो माउण्टेन डिउ प्रयोग गर्दा छिटो छरितो र सजिलो हुने भएकाले वर्षमा २३ हजारभन्दा बढीको माउण्टेन डिउ खान थालेको कार्कीले बताउनु भयो । अझ घरमा मासु पकाएको दिन त मासु पचाउनको लागि माउण्टेन डिउको प्रयोग बढीनै हुने गरेको कार्कीले बताउनु भयो । त्यस्तै पन्चनराज कार्कीले पनि मेलापात र चाडपर्वमा गरी वर्षमा २२ हजारभन्दा बढी नै माउण्टेन डिउ प्रयोग गर्दै आएका छन् ।
चिसो मौसममा पनि माउण्टेन डिउकै प्रयोग हुने भएकाले वर्षमा २२, २३ हजार सामान्य भएको कार्कीले बताउनु भयो । घरमा आएका पाहुनालाई चिया पकाउन झन्झटिलो हुने भएकाले नजिक पसलबाट माउण्टेन डिउ ल्याएर दिने गरेका पन्चनराज कार्कीले बताउनु भयो । मेलापातमा खेतालाले पनि रुचाउने र बोकेर लान पनि सजिलो हुने भएकाले प्राय गाउँमा सबैले माउण्टेन डिउनै प्रयोग गर्न थालेका छन् ।
साविक गाविसको वडा नं. ६,७, ८ र ९ मा माउण्टेन डिउको प्रयोग बढीनै हुने गर्दछ । बिहानदेखि बेलुकीसम्म प्राय सबै घरपरिवारले माउण्टेन डिउनै प्रयोग गर्ने भएकाले वर्षमा २३ लाखको माउण्टेन डिउ प्रयोग गर्नु सामान्य ठान्छन् स्थानीयहरु । दिनमा एक जनाले एक जम्बो नै माउण्टेन डिउ खाने गर्छन । एउटा जम्बो माउण्टेन डिउको २ सय पचास रुपैयाँ पर्दछ । साविक घ्याङसुकाठोकर गाविसका अर्खौले, मानेगाउँ, दोभानका स्थानीयले बढी मात्रमा माउण्टेन डिउको प्रयोग गर्दै आएका छन् । अर्खौले टोल नजिकै ५ वटा पसल छन् । यस गाउँमा भएका सबै पसलमा माउण्टेन डिउ राख्ने गर्छन ।
दोलखाको जिरी नगरपालिकामा समेत वर्षमा ५ करोडभन्दा बढीको माउण्टेन डिउ खपत हुने गरेको वितरक सुमन थापाले बताउनु भयो । साथै तामाकोशी गाउँपालिकाको हाँवामा पनि अत्याधिक मात्रामा खपत हुने गरेको छ ।