दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९ गौरीशंकरअन्तर्गत पर्ने रोल्वालिङ भ्यालीको वेदिङ क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) देखिएको छ । च्छोरोल्पा हिमताल घुम्न जाने क्रममा इटहरी निवासी पर्यटक समीक्षा कार्कीले पहिलो पटक प्रत्यक्ष रूपमा रेड पाण्डा देख्न पाएको बताउनुभयो । “नाम मात्र सुनेको थिएँ, तर प्रत्यक्ष देख्दा अचम्म र खुसी दुवै लागेको छ,” कार्कीले अनुभव बाँड्दै भन्नुभयो ।

यस घटनाले स्थानीयवासी र संरक्षणकर्मीहरूमा उत्साह जगाएको छ । गौरीशंकर गाउँपालिका–९ का वडाअध्यक्ष ङिमगेली शेर्पाले रोल्वालिङ क्षेत्रमा रेड पाण्डा देखिनु नै यहाँको वन संरक्षण र सिकारमुक्त वातावरणको सकारात्मक परिणाम भएको बताउनुभयो । “यहाँका गाउँ घरमा काटमार र सिकार पूर्ण रूपमा निषेध छ त्यसकै कारण अहिले रेड पाण्डा लगायतका अन्य वन्यजन्तु प्रशस्त मात्रामा देखिन थालेका छन्,” उहाँले भन्नुभयो ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख तुलसी प्रसाद दाहालका अनुसार दोलखामा रेड पाण्डाको आधिकारिक संख्या उल्लेख नभए पनि संरक्षण क्षेत्रअन्तर्गत पर्ने रोल्वालिङ, मार्वु र आसपासका वन क्षेत्रमा यसको बसोबास रहेको पुष्टि हुँदै आएको छ । “पछिल्ला वर्षहरूमा रेड पाण्डा लगायत वन्यजन्तुको संरक्षणका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै विशेष पहल थालिएको छ,” प्रमुख दाहालले बताउनुभयो ।
रेड पाण्डा हिमाली क्षेत्रका बाँसयुक्त र ठण्डा वनमा बसोबास गर्ने दुर्लभ प्राणी हो । नेपालमा यसको मुख्य आवासस्थलमा गौरीशंकर, लाङटाङ, मकालु–बरुण, र कन्चनजंघा संरक्षण क्षेत्रहरू पर्छन् । पछिल्लो तथ्यांक अनुसार नेपालभर करिब तीन सयदेखि पाँच सय वटा रेड पाण्डा रहेको अनुमान गरिएको छ ।
रोल्वालिङ भ्यालीमा रेड पाण्डा प्रत्यक्ष देखिनु केवल दुर्लभ घटना मात्र होइन, यो यहाँको प्राकृतिक विविधता र स्थानीयले अपनाएको संरक्षण संस्कृतिको सन्देश पनि हो । यसले पर्यटन र जैविक विविधताको सन्तुलनमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।