दोलखाको विकट गाउँ लाप्चीबासीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर गुनासो पोखेका छन् । चीनको सिमना लाप्चीका स्थानीयहरु तीन दिन पैदल र गाडिको सहायतामा चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई भेटेर उनीहरुले पालन गर्दै आएको चौंरी चरणमा समस्या भएकाले पास उपलब्ध गराइदिन अनुरोध गर्न आएका थिए ।
चौरी चरनको क्रममा चीनको सिमनामा चौरीहरु पार गर्दा अवरोध आएपछि स्थानीय फुुर्वाथार्के शेर्पालगायतका व्यक्तिहरु सदरमुकाम चरिकोटमा आएर प्रमुख जिल्ला अधिकारीलाई समस्या पोखेका हुन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेटेर नेपाल र चीनको सिमाना नेपालतर्फ लाप्ची नाकाका स्थानीयहरुलाई चीनतर्फ चौंरी चरनका लागि राज्यले दिएको पास भए मात्रै पाउने भनि चिनियाँ प्रतिनिधिले रोकेपछि लाप्चीबासीले आफुलाई बोर्डर पास गर्ने परिचय पत्र उपलब्ध गराईदिन आग्रह गरेका छन् ।
उनीहरुले चौंरी चरनका लागि गोठालो जान चिनियाँ पक्षले सुरक्षा घेरा बनाएर पास मागेपछि आफुुहरुले गोठालो जानका अलवा चौंरीको चौंरीका बाछा, घ्यू, छुर्पी लगायतका वस्तुहरु बिक्री गरि दैनिक उपभोग्य खाद्यन्न किन्ने सहज वातावरण निर्माण गरिदिन प्रमुख जिल्ला अधिकारी पोखरेल समक्ष आग्रह गरेका हुुन् । २०७२ सालको भूकम्प र कोभिड १९ को महामारीपछि बन्द रहेको लाप्ची–रामुदिङ नाका खुला नहुँदा लाप्चीका स्थानीयहरु आर्थिक रुपमा समस्यामा परेका थिए । दशैंमा खुला गरेपछि केहि राहत भएको थियो तर हाल पासको कारण देखाउँदै सिमा वारपार भने खुला नहुँदा समस्या भोग्दै आएका छन् ।
लाप्चीका अगुुवाहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेटेर सदरमुकाम आवातजावत गर्न जलविद्युत आयोजनाले पैदल हिड्ने बाटो बिगारिदिएको र बाटो मर्मत गर्न अनुरोध गर्दा समेत स्थानीयहरुको गुनासो सुनुवाइ नभएको समेत गुनासो राखेका थिए । त्यस्तै ओङ्जुक शेर्पा भन्नुुहुन्छ, हामी हिड्ने पुरानो बाटो हाईड्रोपावरको संरचना निर्माणको क्रममा भत्किएको छ त्यो पनि निर्माण भएन । लाप्चीबासीहरुले नेपालबाट चीनतर्फ नाकामा विगत वर्षहरुमा नेपाली नागरिकता देखाएर सिमा वारपार गर्न सहज भएपनि यो वर्ष बोर्डरबाट सुन पास हुने आशंकामा चीनतर्फ आवतजावतमा कडाई गरेपछि नुन समेत महंगो परेको उहाँको भनाई छ । लामाबगरमा नुन किन्न आउँदा एक किलोलाई ३० रुपैयाँ पर्छ तर त्यहि नुन लाप्ची पुुग्दा १६० रुपैयाँ पर्दा स्थानीयहरुका लागि सुन जतिकै महंगो पर्ने गरेको स्थानीयको गुनासो छ । चीनतर्फ वारपार गर्न पास भए २ रुपैयाँ घोर्मुमा नुन पाउने शेर्पाका भनाई छ । चीनको बजार नजिक र खाद्यन्न सस्तो पनि पाईने भएकाले वर्षौदेखि उतैतिर किनमेल गर्दै आएका थिए । अहिले भने स्थानीयहरुले सिमा पासका लागि कागजात राज्यले नदिँदा आफुहरुले सबै चीज हेलिकप्टरबाट लैजादा ३ हजार बोराको चामल ९ हजार पर्ने गरेको र बोकेर लैजादा महंगो पर्दा बाँच्न कठिन भएको लाप्चीका स्थानीय रेछेन शेर्पा दोर्जे गुम्बा तथा ध्यान केन्द्रका लामा खेप्पुु ङुुटुुप शेर्पाको भनाई छ । शेर्पाको भनाई अनुसार यहाँ मोवाईल फोन चल्दैन, टेलिकमलाई पटक पटक टावर निर्माण गरिदिन आग्रह गरेपनि स्थानीय सरकारको बेवास्ताका कारण अहिले पनि आफुहरु टेलिफोन र ईन्टरनेटको पहुँचबाहिर रहेको शेर्पाले बताए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले पासका लागि आफुले माथिल्लो निकायमा पहल गरिरहेको र हप्ता दिनभित्रै बोर्डर पासको परिचयपत्र उपलबध गराउने वचन दिएका छन् । उहाँले सकेसम्म लाप्चीमा नै नागरिकहरुलाई राज्यको प्रतिनिधिको उपस्थितिमा पास उपलब्ध गरिने प्रमुख जिल्ला अधिकारी पोखरलले आश्वासन दिए । लाप्चीमा ४६ घरधुरी र झण्डै १ सय ५० जनसंख्या रहेको छ । यो स्थानमा लाप्ची गुम्बा पनि रहेको र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको ध्यान केन्द्रको रुपमा पनि विश्वभर प्रख्यात मानिन्छ ।