मेलुङ गाउँपालिका–२ बाँसबोटेमा उत्पादन हुने अकबरे खुर्सानी जिरी लेकाली हाटघरमार्फत काठमाडौंसम्म पुगी बिक्री हुन थालेको छ । गाउँमा उत्पादन हुने अर्गानिक तरकारी तथा फलफूल बेच्दै आएको जिरी लेकाली हाटघरले अब बाँसबोटेको अकबरे खुर्सानी समेत किन्न थालेको हो ।
जिरी लेकाली हाटघरका सञ्चालक तथा उद्यमी लिलाराम खड्काद्वारा काठमाडौं बानेश्वरमा सञ्चालित हाटघरमार्फत हालसम्म ३२५ केजीभन्दा बढी अकबरे खुर्सानी खरिद गरिएको बाँसबोटे निवासी तथा व्यावसायिक कृषक सम्झना खड्का बुढाथोकीले जानकारी दिनुभयो । कृषि जेटीए अध्ययन गरेर व्यावसायिक कृषिमा लागेकी सम्झनाका अनुसार काठमाडौंमा अकबरे खुर्सानीको माग बढ्दो छ । उहाँले प्रतिकेजी २०० देखि २५० रुपैयाँसम्ममा खुर्सानी बिक्री भएको बताउनुभयो । असारदेखि पाक्न थालेको अकबरे कात्तिकसम्म फल्ने गर्दछ ।

सम्झना बुढाथोकीले ४ रोपनी जमिनमा २ हजार ६ सय वटा अकबरे खुर्सानीका बोट लगाउनुभएको छ । बिक्री नभएका खुर्सानीहरू सुकाएर राख्ने गरिएको छ भने त्यसको मूल्य प्रतिकेजी १ हजार पाँच सय रुपैयाँसम्म पुग्ने गरेको स्थानीय हरि बुढाथोकीले बताउनुभयो । अहिलेको सिजनमा तामाकोशी बजार, चरिकोटसम्म पनि अकबरेको बजार विस्तार हुन थालेको छ । गाउँमा अधिकांशको घरमै अकबरे रोपिएको छ । तर, अहिलेको सिजनमा मूल्य अलि घटेको हुँदा प्रतिकेजी १८० देखि २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । मेलुङ गाउँपालिकाले हेफर नेपाल र सामुदायिक विकास मञ्च नेपालको साझेदारीमा करिब ३,५०० कृषकलाई कृषि व्यवसायमा आवद्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङका अनुसार किसानलाई व्यवसायिक बनाउन नर्सरी, कृषि सामग्री तथा प्राविधिक सहयोग उपलब्ध गराइएको हो ।

गत आर्थिक वर्षमा गाउँपालिकाले १ करोड २० लाख रुपैयाँ कृषि कार्यक्रममा छुट्याएर १ करोड ५ लाख रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पशुपालन, दुग्ध उत्पादन, तरकारी, माछापालन, केराखेती तथा बाख्रापालन लगायतका कार्यक्रम अन्तर्गत छ वटा कृषि समूहलाई विशेष रूपमा खुर्सानी खेतीमा प्रोत्साहन गरिएको थियो ।
वडा नं. २, ३, ४ र ५ का कृषि समूहहरूले अहिले व्यावसायिक अकबरे खुर्सानी तथा तरकारी खेती गरिरहेका छन् । कार्यक्रम संयोजक फनिन्द्र चौलागाईंका अनुसार सम्झना खड्काकै नर्सरीबाट २८ हजार ४ सय अकबरे खुर्सानीका बिरुवा खरिद गरी गाईखुरा महिला उद्यमी कृषि सहकारीमार्फत तीन सयभन्दा बढी कृषकलाई वितरण गरिएको हो ।