चरिकोट, २५ असार
भीमेश्वर नगरपालिकाले दोलखाको कला, साहित्य र संस्कृति संरक्षण र प्रवद्र्धनको लागि प्रतिष्ठान स्थापना गरेको छ । नगरपालिकाको नवौं नगरसभाले ऐन, कानुन पारित गरेपछि प्रतिष्ठानले पूर्णता पाएको छ ।
प्रतिष्ठानले पूर्णता पाएसँगै शंकरलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय भीमेश्वर संस्कृति प्रतिष्ठान, दोलखा गठन गरिएको छ । प्रतिष्ठानकोमा उपाध्यक्ष सुशिला न्यौपाने र सदस्यहरुमा शान्तकृष्ण श्रेष्ठ, गोपाल थामी, मुरारि दुलाल, विनिता शिवाकोटी, शिवजी प्रधान, जीवन लामा र सदस्य सचिवमा सुन्दर खड्का रहनुभएको छ ।
प्रतिष्ठानले नगरपालिका लगायत दोलखाको कला साहित्य र संस्कृतिको क्षेत्रमा कार्य गर्नेछ । भीमेश्वर नगरपालिकाका मेयर तथा प्रतिष्ठानका प्रमुख संरक्षक भरत बहादुर केसीको अध्यक्षतामा बसेको सभाले प्रतिष्ठान गठन गरेको हो । सभामा भीमेश्वर नगरपालिकाका उपमेयर तथा संरक्षक कमला बस्नेत, कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक, प्रतिष्ठानका सल्लाहकार मान बहादुर खड्काले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठान अन्तरगत २५ रत्न र २७ नक्षत्र संस्कृति सभा रहने छन् । यस सभामा विभिन्न क्षेत्रका विज्ञ तथा विष्लेषकहरु सभाको सदस्य रहने छन । साथै भीमेश्वर संस्कृति प्रतिष्ठान दोलखाले भानु विद्यापति साहित्य प्रतिष्ठानले पूर्णता नपाएसम्म यसै संस्कृति प्रतिष्ठानले कार्य गर्नेछ ।
नव गठित संस्कृति प्रतिष्ठानले भानु जयन्तिको अवसरमा सिमपानी क्षेत्रमा भानु विद्यापतिको सालिक शिलान्यास गर्ने जनाएको छ । यसै गरी जनकपुर र दोलखा भीमेश्वरको भगिनी सम्बन्ध कायम गरी कला साहित्य सम्बन्धि विभिन्न गतिविधि सञ्चालन गरिने अध्यक्ष शंकरलाल श्रेष्ठले प्रतिवद्धता जनाउनु भयो । प्रतिष्ठानका अध्यक्ष श्रेष्ठ दोलखा साहित्य संङ्गमका अध्यक्षसमेत हुनुहुन्छ ।