अमेरिकामा सक्रिय नेपाली समुदायको संस्था ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को महिला उपाध्यक्षमा दोलखाकी सपना राउत निर्वाचित हुनुभएको छ । सपना राउत ग्यान्सको २०२६ कार्यसमिति तथा बोर्ड अफ ट्रष्टी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नयाँ नेतृत्व चयन भएको हो ।
भीमेश्वर नगरपालिका–३, दोलखाकी राउतले महिला उपाध्यक्ष पदमा ४२७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो । उहाँ लामो समयदेखि अमेरिकामा व्यवसाय गर्दै आउनुभएको छ । दोलखाबाट अमेरिकामा बसेर नेपाली समुदायमा सक्रिय रहँदै नेतृत्व तहसम्म पुग्न सफल भएकी राउतको विजयलाई दोलखाली समुदायले पनि गर्वका रूपमा हेरेका छन् ।
यसपटकको निर्वाचनलाई ग्यान्सको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र चर्चित निर्वाचनका रूपमा हेरिएको थियो । निर्वाचन समितिका अनुसार करिब ९ सय मत खसेको थियो, जसले समुदायभित्र संस्थाप्रति बढ्दो चासो र सहभागिता देखाएको छ ।
निर्वाचनमा अध्यक्ष पदमा पदम ठकुराठी ४७७ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी रामकुमार महतो ले ३४० मत प्राप्त गर्नुभयो । यससँगै ठकुराठी नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाही ४२१ मतसहित निर्वाचित हुनुभयो भने उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४१७ मतसहित विजयी हुनुभयो । महासचिवमा सूर्य कार्की ४४५ मतसहित निर्वाचित हुँदा सचिवमा प्रिन्स भट्ट (बसन्त राज) तथा कोषाध्यक्षमा नारायण प्रसाद रिजाल विजयी हुनुभयो ।
सदस्य पदमा दीपक हुमागाईं, एलिजा थापा पौडेल, बिनम आचार्य र प्रदीप कुमार भडेल निर्वाचित हुनुभएको छ ।
बोर्ड अफ ट्रष्टीतर्फ प्रमुख (चेयर) मा देवराज न्यौपाने तथा उपप्रमुख (भाइस चेयर) मा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ । ट्रष्टी सदस्यमा हर्षबहादुर नाकर्मी, रोशन गोसाई, सुरज अधिकारी, सूर्यनारायण साह, टिकामाया गुरुङ र वर्षा गौतम निर्वाचित हुनुभएको छ ।
संस्थागत विस्तार, सामाजिक गतिविधि र नेपाली समुदायभित्र बढ्दो सक्रियतासँगै यसपटकको निर्वाचनप्रति विशेष उत्साह देखिएको थियो । प्रतिस्पर्धात्मक चुनाव सम्पन्न भएसँगै अब नयाँ नेतृत्वले ग्यान्सलाई अझ एकताबद्ध, पारदर्शी, समावेशी र समुदायमैत्री संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।