चरिकोट, २४ पुष
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्न पाएपछि यति बेला भीमेश्वर नगरपालिका वडा नं. ५ की ९३ वर्षीया विष्णुमाया खड्का खुशीले गद्गद् हुनुहुन्छ । “ राष्ट्रपतिसँग भेट गरौँला भन्ने सोचेको पनि थिईन् । राष्ट्रपतिलाई भेट्ने अवसर जो कोहीलाई कहाँ मिल्ला त ? अहँ मिल्दैन नि ! आपनो वडाको वडाध्यक्षले यो अवसर जुराइदिनु भयो ।” खड्काले भन्नु भयो । “वडाध्यक्ष जेष्ठ नागरिकको असल छोरा बनेर आमाबुबाको सपना पूरा गरिदिनु भयो । हाम्रो आशीवार्द मिलोस् ।” खड्काको भनाई छ ।
भीमेश्वर नरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु श्रेष्ठको पहलमा वडाका जेष्ठ नागरिले राष्ट्रपतिसँग भेट्ने अवसर पाएका हुन् । कार्यक्रममा सहभागी जेष्ठ नागरिक मानकुमारी कार्कीलाई भने राष्ट्रपति भेट्ने यो अवसर भाग्यले जुराएको भन्ने लागेको छ । तीर्थस्थल भ्रमणसँगै राष्ट्रको ठूलो मान्छेलाई उहाँकै निवासमा पुगेर भेट्ने मौका पाउँनु सानो कुरा होइन् । जीवनका सबै रहर पूरा भएको छ, कार्कीले खुशी व्यक्त गर्नु भयो ।
अर्की ८० माथिकी जेष्ठ नागरिक अमरमाया घिमिरेलाई भ्रमण र महत्वपूर्ण व्यक्तित्वसँंगको भेटले अझै बाँच्ने रहर जागेको छ । “यो भ्रमणले त मलाई थप उत्साह र साहस थपेको छ ।” वहाँले भन्नु भयो । भ्रमणका अवसरमा राष्ट्र प्रमुख विद्यादेवी भण्डारीलाई शीतल निवास पुगेर जेष्ठ नागरिकले भेट गरेका हुन् । दोलखाका जेष्ठ नागरिकले राष्ट्रपति भण्डारीलाई भीमेश्वर नगरपालिका ५ मा रहेको प्रशिद्ध धार्मिक स्थल महाङ्काल भगवतीको प्रसाद प्रदान गरेका थिए ।
राष्ट्रपति भवनको प्रवास कक्षमा जेष्ठ नागरिगसँग भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । भेटको क्रममा राष्ट्रपति भण्डारीले गाउँ बस्तिका बुबा आमाहरुलाई भेट्ने इच्छा हुँदाहुँदै पनि पदीय दायित्वका कारण सहज नभएको बताउनु भयो । शीतल निवासमा ८० वर्ष पार गरि सक्नु भएका आमा बुवालाई भेट्न र शितल निवासमा स्वागत गर्न पाउँदा खुसी लागेको राष्ट्रपतिले बताउँनु भयो । कार्यक्रममा उहाँले भन्नुभयो “जेष्ठ नागरीक देशका गहाना हुन्, देशका गहनाको सम्मानको लागि सरकार गम्भीर छ ।” भेटघाट पछि राष्ट्रपति भण्डारीले महाङ्काल मन्दिरलाई भेटी समेत पठाउनु भएको छ । जेष्ठ नागरिकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका छन् ।
वडा अध्यक्ष बासु श्रेष्ठले आफुले पाउने पारिश्रमिक रकममार्फत वडाका ८० वर्ष माथिका जेष्ठ नागरिकको सम्मानको लागि तीने दिने भ्रमणको आयोजना गर्नु भएको थियो । जेष्ठ नागरिकलाई प्रसिद्ध तीर्थ स्थल पशुपतिनाथ मन्दिरलगायतको भ्रमण समेत गराइएको थियो । जेष्ठ नागरिकहरु इन्दे्रणी कार्यक्रममा सहभागी भएर रमाइलो समेत गरेका थिए ।
अध्यक्ष श्रेष्ठलाई मासिक रुपमा प्राप्त हुने तलव भत्ताको कोष जम्मा गरेर वडाका ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई भ्रमण गराउनु भएको थियो । त्यस्तै उहाँले विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री सहयोग, पोसाक वितरण लगायतका कार्य व्यक्तिगत खर्चमा गर्दै आउनु भएको छ ।