बरु बजारबाट आधा घण्टा उकालो हिँडेपछि पुगिन्छ गौरीशंकर गाउँपालिका–८ खारे किर्से । चारैतिर डाँडाकाँडाले घेरिएको, भीरको फेदमा फैलिएका सुन्दर बारीका फाँटहरूले सजिएको गाउँ थियो भूकम्पअघि । एक दशकअघि यहाँको जीवन सन्तुलित थियो— बारीमा सुन्तला पाक्थे, पाहुना मोहित हुन्थे, खेतमा धान, मकै, गहुँ र कोदो लहराउँथे । गाउँका मान्छेहरू यही उब्जनीमा रमाउँथे । तर २०७२ सालको विनाशकारी भूकम्पले यहाँको जीवनशैली नै हल्लाइदियो ।

भूकम्पपछि किर्सेका दुईवटा पानीका मुहान एकैपटक सुक्न थाले । पानी बिनाको जीवन सम्भव थिएन । पाँच पुस्तादेखि बस्दै आएको थलो छोड्नुपर्ने बाध्यता आयो । कुनै घर लोङटातिर झ¥यो, कुनै खारेखोलातिर, त कुनै बरु बजारको नजिक गएर बस्यो । कतिपय त अझै बिस्थापित जीवनमै छन् । सरेर बसे पनि जीविकोपार्जन सजिलो छैन । कतै उब्जनीको जमिन छैन, कतै खोलाले बगाउँदैछ । घरखर्च चलाउने जमिन बाँकी छैन । बाँच्नकै लागि अहिले चार–पाँच रोपनी जमिनमै सीमित हुनुपरेको छ ।

“हामीले न सडक माग्यौं, न विद्यालय, न स्वास्थ्य उपचार, न रोजगार । केवल पानी माग्यौं । तर नेताहरुले हामीलाई सुनिनन,” गोकर्ण तामाङको गुनासो छ । पानीकै लागि गाउँ छाड्नुपरेको उनी सम्झिन्छन् । भोट हाल्न चार घण्टा हिँडेर मतदान केन्द्र पुग्छन् किर्सेका बासिन्दा । चुनावको बेला काम छाडेर काठमाडौं र भारतबाट फर्किन्छन् । हजारौं रुपैयाँ खर्चेर पनि एक भोट हाल्न गाउँ फर्किन्छन् । तर भोटको मूल्य अहिलेसम्म किर्सेले महसुस गर्न पाएनन् । किर्सेबाट मतदान गर्न जाने बाटो चार घण्टाको यात्रामा पर्छ, जाने र फर्किने । पानीका लागि वर्षौंदेखि नेताहरूको ढोका ढकढक्याउँदै थाकिसकेका छन् यहाँका बासिन्दा । “भोट हाल्न हजारौँ खर्चेर भारत, काठमाडौँबाट फर्किन्छन् यहाँका दाजुभाइ,” स्थानीय कृष्ण बहादुर तामाङ भन्नुहुन्छ, “तर हाम्रो भोटको कुनै मूल्य छैन रहेछ ।” १२, १३ घरधुरीका ४५ भन्दा बढी मतदाता छन् । भोट हाल्नकै लागि हजारौं रुपैयाँ खर्चेर गाउँ आउछन् चुनावमा । विश्वाशिला र भरपर्दो नेता होला भन्दै चुनावमा भोट हाल्छन् । अहिलेसम्म यस समुदायबाट कोही नेता बनाएका छैनन् । कुनै पार्टीले वडा सदस्य समेत पत्याएका छैनन् । जहिले पनि भोट बैंककै रुपमा प्रयोग गर्दै आएका छन् नेताहरुले स्थानीयको गुनासो छ । पानीको लागि सबै पार्टीका नेता, जनप्रतिनिधिहरुलाई गुहार्दा पनि पानीको व्यवस्था नगरेकै कारण विस्थापित हुनुपर्यो स्थानीयले गुनासो पोख्नुभयो ।

७३ वर्षीय कृष्णबहादुर तामाङ आज पनि आफू जन्मेको थातथलो हेर्न जान्छन् । तर त्यही ठाउँमा पानी पिउन नपाउँदा उहाँको मन दुख्छ । “हामी नेताका लागि भोट बैंक मात्रै हौं,” उहाँ भन्छन्, “तर हाम्रो समस्या नेताको एजेन्डा कहिल्यै बनेन ।” अहिलेसम्म किर्सेबाट एक जना पनि वडा सदस्य समेत बन्न सकेका छैनन् । कुनै पार्टीको नेतृत्वमा पुगेका छैनन् ।

किर्सेको सुन्तला कहिल्यै बिर्सि नसकिने छ । मेलापात, जात्रामा गीत नै बन्ने गर्छ किर्सेको सुन्तलाको । एउटै बोटमा पाँच सय दाना फल्ने सुन्तला गाउँभरि छरिएर हुर्कन्थ्यो । पाहुना गाउँमा गाउँ सुन्तला देखेर मख्ख पर्थे । सुन्तलाले गाउँलाई मात्र हैन, स्थानीयको गर्जो टार्ने भरथेग गथ्र्यो । सुन्तला मात्र होइन केरा, धान, मकै, गहुँ, कोदो, आलु सबैले यहाँका पर्वहरू उज्यालो बनाउँथे । तर आज त्यो उत्पादन सम्भव छैन । उब्जनी हुने जमिन सँगै बितिसकेको छ ।

“हामीले न कुनै पार्टीको विरोध ग¥यौं, न कुनै पार्टीको पक्षपात,” अत्तरबहादुर तामाङको स्वरमा पीडा पोखिन्छ, “तर भूकम्प गएको दशक पुग्न लाग्दा पनि हामी अझै पानी पानी भनेर बस्न बाध्य छौं । अहिले त घर पनि छैन, घाट पनि छैन ।”

किर्से आज पनि त्यत्तिकै रमणीय छ, तर मान्छेहरुको पीडा र विवशता त्यो सौन्दर्यभन्दा ठुलो बनेको छ । पानीको मूल सुक्दा, जीवनको भरोसा पनि धमिलिएको छ । किर्सेले भोट त दियो, तर बदला पानी माग्दा खाल्डोमै भिज्न बाध्य भयो । हामीले नेतालाई पानी माग्दा हुन्छ हुन्छ भन्नुहुन्छ तर कहिले पानीको व्यवस्था गरिदिने हो थाहा छैन स्थानीय सुवराज तामाङ बताउनुहुन्छ । त्यस्तै पानीको मुहान नजिक नभएकाले किर्सेबासीलाई पानी व्यवस्था गर्न नसकेको गौरीशंकर गाउँपालिका–८ का वडाअध्यक्ष दावा शेर्पाले बताउनु भयो । अहिले सरेको ठाउँमा पनि नदिले दुख दिन थालेपछि उनीहरु चिन्तित छन् ।