दोलखाको गौरीशंकर गाउँपालिका–१ जुंगुमा स्थानीयद्वारा अहिले कोदोको रक्सी उत्पादनलाई नयाँ उचाइमा पु¥याइरहेका छन् । नमूना वडा समाजवादी कार्यक्रमअन्तर्गत सुरु गरिएको यो अभियान गाउँका कृषक तथा घरेलु उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले अघि बढाइएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममा परेको यो परियोजनाका लागि प्रदेशबाट पाँच लाख रुपैयाँको बजेट उपलब्ध भएको थियो । जसमा २५ प्रतिशत रकम समूहले व्यहोर्ने व्यवस्था थियो ।
गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार स्थानीयले उत्पादन गर्दै आएका कोदोको सदुपयोग, यसको संरक्षण र आयआर्जन तीनै उद्देश्यका साथ कोदोको रक्सी उत्पादन सुरु गरिएको हो । “कोदो लोप हुँदै गएको अवस्थामा यस्तो पहलले किसानमा ऊर्जा थप्नुका साथै परम्परागत बालीको जगेर्ना र आयआर्जनमा महत्वपूर्ण योगदान पु¥याउनेछ,” उपरकोटी बताउँछन् ।
ब्राण्डिङदेखि प्याकेजिङसम्म गाउँपालिकाको सहयोग
जुंगु गाउँ कोदो उत्पादनका दृष्टिले अग्रणी क्षेत्रमध्ये पर्दछ । यही उत्पादनलाई मूल्यवृद्धि गर्दै बजारसम्म पु¥याउने योजना अनुसार गाउँपालिकाले अब बोतल व्यवस्थापन, ब्राण्डिङ र प्याकेजिङका लागि छुट्टै साझेदारी कार्यक्रममार्फत बजेट विनियोजन गर्ने तयारी गरेको छ ।
यसै उद्देश्यले गाउँपालिकाले ‘घरेलु मदिरा उत्पादन तथा व्यवस्थापन कार्यविधि २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको हो । कार्यविधि अनुसार कोदोको रक्सी उत्पादकहरूलाई पाँच दिने मर्च (रक्सी बनाउने प्रक्रियासहित) तालिम दिइएको थियो । तालिमपछि प्रत्येक सहभागीलाई तीन–तीन सेट रक्सी उत्पादनका भाँडा–सामग्री समेत वितरण गरिएको थियो ।
शुद्ध कोदो र जडीबुटी मिसावटसहित उत्पादन
हाल जुंगुमा शुद्ध कोदोको रक्सी उत्पादन सुरु भइसकेको छ । केही उत्पादकहरूले परम्परागत जडीबुटी ‘पदमचाल’ मिसाएर पनि विशेष र फरक स्वादका रक्सी उत्पादन गर्न थालेका छन् । गौरीशंकर गाउँपालिकाको उपहार (कोशेली) को रूपमा माग पनि बढ्न थालेको छ । साथै कोशेलीको रुपमा पालिकाले यस कोदोको रक्सी दिने चलन अघि बढाएको छ ।
हाल ७५० एमएल बोतलको खुद्रा मूल्य २३० रुपैयाँ निर्धारण गरिएको छ । जसमा २० प्रतिशत अल्कोहल हुन्छ । आगामी दिनमा २५ प्रतिशत अल्कोहल भएको नयाँ भेरियन्ट पनि उत्पादन गर्ने लक्ष्य समितिले राखेको छ । “उपभोक्ताको रुचि र मागअनुसार बजार विस्तार गर्ने योजना छ,” गौरीशंकर घरेलु मदिरा व्यवस्थापन तथा प्रवद्र्धन समितिका अध्यक्ष गोविन्द खड्का बताउँछन् । उहाँका अनुसार अहिलेसम्म ७ सय बोतल उत्पादन गरी बिक्री भईसकेको छ । आफ्नै गाउँ, फेदी, मैनापोखरीदेखि काठमाडौ र नुवाकोटसम्म पनि कोेसेलीको रुपमा कोदोको रक्सीले बजार लिईसकेको छ । खड्काको समूहमा ४ घरधुरीका रक्सी उत्पादक आवद्ध छन् । उहाँहरुले पनि नियमित रुपमा रक्सी उत्पादन गर्नुहुन्छ । खड्काले अहिलेसम्म गाउँकै कोदो प्रयोग गरेका छन् । एक पाथीको स्थानीयले १ सय ५० रुपैयाँ लिन्छन् । अहिलेसम्म ३५ मुरीभन्दा बढी कोदो खरिद गरेर रक्सी उत्पादन गरेको बताउछन् ।
स्थानीय उत्पादनले बाहिरी रक्सीको आयात घटाउँदै
गाउँमै गुणस्तरयुक्त र शुद्ध रक्सी उत्पादन हुन थालेसँगै बाहिरबाट ल्याइने सस्तो ‘शिल्डप्याक’ रक्सीको आयात घट्न थालेको स्थानीयले बताएका छन् । घरेलु रक्सीले स्वास्थ्यमा पर्ने नकारात्मक असर कम हुनुका साथै आर्थिक रूपमा पनि गाउँभित्रै रकम संचित हुने अपेक्षा गरिएको छ ।
