समयमै उपचार नपाउँदा कालिञ्चोक गाउँपालिकामा चौरीपालन व्यवसाय संकटमा परेको छ । चौरी गोठहरू विकट तथा उच्च खर्क क्षेत्रमा पर्ने भएकाले बिरामी चौरीको समयमा उपचार गर्न नसकिँदा दर्जनौं चौरी मरेका छन् ।

कालिञ्चोक गाउँपालिका–५ का चौरीपालक लालबीर थामीका अनुसार, गत वर्ष मात्र कृषकले पालेका १५ वटा चौरी उपचारको अभावमा मरेका छन् । “बिरामी परेपछि झोक्रिने, काम्ने, अनि हप्तादिनमै मर्ने गर्छन्, तर पालिकाबाट पशु चिकित्सक आइनपुग्दै मर्ने गर्छ” थामीले भन्नुुभयो । गाउँपालिकाको पशु सेवा शाखामा खबर गरे पनि विकटता र दुरीका कारण उपचारमा ढिलाइ हुने गरेको थामीको भनाइ छ । “समयमै उपचार पाएको भए धेरै चौरी बाँच्थे,” उहाँले दुखेसो पोख्नुुभयो ।
कालिञ्चोक गाउँपालिका पशु स्वास्थ्य सेवा शाखाका प्राविधिक सहायक संगीता बस्नेतले भने बिरामी हुँदा खबर नगर्ने तर मरेपछि बीमा दाबी गर्न मात्र आउने प्रवृत्ति देखिएको बताउनुुभयो । “गत आर्थिक वर्षमा मात्रै ७–८ वटा चौरी मरेका छन्, बीमा दाबीका लागि पालिकामा कृषक आएका थिए,” उहाँले जानकारी दिनुुभयो । गाउँपालिकाको अनुदान र आफ्नै लगानीमा ३२ वटा चौरी पालीरहेका थामीले यो व्यवसाय गत वर्षदेखि थालेका हुन् । कालिञ्चोक क्षेत्रमा थामी, शेर्पा, मगर र तामाङ समुदाय चौरीपालनमा सक्रिय छन् । पालिकाभित्र हाल तीन सयभन्दा बढी चौरी रहेका र ९ वटा भन्दा बढी चौरीगोठ सञ्चालनमा रहेको उहाँले बताउनुुभयो ।
तर, चौरी चरण गर्ने खर्कहरू साँघुरिँदै जानु, घाँस कम पलाउनु र नयाँ रोगहरूको जोखिम बढ्नुले चौरीपालन थप संकटमा परेको थामीको भनाइ छ । “लाङबोल, निङलेनी, गौरीघडेरी, ताक्लापु, टुटुवान र घ्याङडाँडाका खर्क भने केही खुला छन्,” उहाँले भन्नुुभयो । चौरीको दूधबाट बनाइने घ्यू, छुर्पी र चीज पर्यटकबीच लोकप्रिय छन् । कालिञ्चोक दर्शनमा आउने पर्यटकहरूले यी उत्पादनहरू विशेषरूपमा रुचाउने तथा कोशेलीको रूपमा लैजाने गरेका छन् । तर, आधारभूत पशु स्वास्थ्य सेवा नपुग्दा र खर्कको अभाव बढ्दै जाँदा चौरीपालनमा युवाको आकर्षण घट्दो देखिएको छ ।