नेपाल थामी समाज दोलखाको भवन निर्माणका लागि वडाध्यक्षले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका–६ का वडाध्यक्ष भरत पाण्डेले सामुदायिक भवन निर्माणका लागि सहयोग गरेका हुन् ।

भवन निर्माण समितिका अनुसार वडाध्यक्ष पाण्डेले नेपाल थामी समाजको भवन निर्माणका लागि पाँच हजार पाँच सय पचपन्न रुपैयाँ सहयोग गरेका छन् । नेपाल थामी समाज दोलखाले चरिकोटमा निर्माण गर्न लागेको सामुदायिक भवनका लागि आर्थिक तथा नैतिक सहयोगको अपिल गरेको छ । इच्छुक महानुभावहरूले नेपाल बैंक, चरिकोट शाखामा रहेको संस्थाको खातामा सहयोग गर्न सकिने समाजले जनाएको छ ।
थामी समुदायले हालसम्म आफ्ना सांस्कृतिक, सामाजिक तथा जातीय कार्यक्रमहरू सञ्चालन गर्न उपयुक्त संरचना (भवन) नहुँदा समस्या भोग्दै आएको जनाएको छ । समाजले अब छिट्टै भवन निर्माण सम्पन्न हुने अपेक्षा व्यक्त गरेको छ । थामी समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा तथा चाडपर्वहरूलाई संरक्षण र प्रवद्र्धन गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ । यस्ता गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि आवश्यक आधारभूत संरचना निर्माण गर्न थामी समाजले भवन निर्माण कार्यलाई तीव्रता दिएको हो ।
निर्माणधीन भवनमा सभा तथा बैठकका लागि हल, सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने मञ्च, थामी भाषा कक्षा सञ्चालन, सामुदायिक पुस्तकालय तथा अभिलेखालय, महिला तथा युवाका लागि सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने प्रशिक्षण कक्ष, संग्रहालय र भूमे मन्दिरका लागि पक्की भवन आवश्यक भएको निर्माण समितिले जनाएको छ ।
असाध्यै कम स्रोतसाधनका कारण यो भवन निर्माणमा सरकार तथा सम्बन्धित निकाय, व्यक्तिहरूको सहयोग अनिवार्य भएको भन्दै थामी समाजले सबैमा सहयोगको अपिल गरेको छ ।