धार्मिक एवम पर्यटकीय स्थल कालिञ्चोक मन्दिरमा मेला भर्न आएका श्रद्धालुभक्तजनलाई शिवाकोटी समाज नेपालले दही चिउरा खुवाएको छ । पितापूर्खाले सञ्चालन गरेको साँस्कृतिक परम्परालाई निरन्तरता दिन समाजले आज करिब १ हजार २ सय धर्मावलम्मीलाई दही चिउरा खुवाएको हो ।
पुर्खाको संस्कृति संरक्षण,सामाजिक सद्भाव र सामाजिक एकताको सन्देश दिने उद्देश्यले कार्यक्रमलाई पुनः सञ्चालन गर्न लागिएको शिवाकोटी समाज नेपालका उपाध्यक्ष एवम कार्यक्रम संयोजक रामकाजी शिवाकोटीले बताउनुभयो । दही चिउरासंगै संस्कृति र पहिचानको पुनरउत्थानका गरी सन्ततिलाई समेत परम्परा सम्झाउने प्रयासमा लागेको संयोजक शिवाकोटीको भनाइ छ ।
सुनकोशी र तामाकोशीको दुई नदीको संगम,समुद्री सतहदेखि ३ हजार ८ सय ४२ मिटरको उचाइमा रहेको कालिञ्चोक मन्दिरमा अगिल्लो साँझ बलीपूजा,लाखवत्ती र रातभर दीपप्रज्वलन गरिएको थियो । आफै उत्पन्न भएको मानिएको शिवपार्वती कुण्डमा विहान अभिषेकसहित जनै पूर्णिमामा पुर्खाले जनै फेरेको स्मरण गर्दै परम्परालाई निरन्तरता दिन शुरु गरिएको शिवाकोटी समाजले जनाएको छ । किंवदन्तीअनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ । मन्दिर परिसरमा परापूर्वकालमा पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको बासस्थान रहेको बताइएको छ ।
झापा, मोरङ, काठमाण्डौ, सुनखानी, सुन्द्रावती, क्षमावती, चरिकोटबाट शिवाकोटी समाजको नेतृत्वमा कालिञ्चोकमा संस्कृतिको पुनःजागरणमा गएको समूहले आज बिहान विधिवत पूजाआराधाना गरी मन्दिर नजिकै रहेको पाटीमा दही चिउरा खुवाएको होे । शिवाकोटी समाज नेपालका सचिव सुकदेव शिवाकोटीका अनुसार दही चिउरा खुवाउने कार्यक्रम धार्मिक संस्कारलाई पुनरजीवन दिने मात्र नभइ इतिहास संरक्षण र पितापूर्खाको कर्मको सम्मान र अन्य समूदायसंग सम्बन्ध विस्तारको लक्ष्य हो । करिब ४४ वर्षपछि पुःन सञ्चालनमा ल्याइएको दही चिउरा कार्यक्रममा भीमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर, कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कालिञ्चोक गाउँपालिका वडा नं ८ का वडाध्यक्ष बालकृष्ण आचार्य, प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतो, गरुढध्वज गणका गणपति, शिवाकोटी समाज नेपालका पदाधिकारी, सुनखानी, सुन्द्रावती, क्षमावतीका स्थानीय बासिन्दाको उल्लासमय उपस्थिति रहेको थियो । धार्मिक एवम प्राकृतिक महत्व बोकेको कालिञ्चोक भगवती मन्दिरमा श्रृङ्गेश्वर खैजडी भजन समूहको नेतृत्वमा परम्परागत खैजडीभजन प्रदर्शन समेत गरिएको शिवाकोटी समाजले जनाएको छ । दोलखाका क्षमावती, सुनखानी र सुन्द्रावतीका भजन टोलीको सहभागिता रहेको थियो ।
शिवाकोटी समाजका अनुसार परापूर्वकालदेखि नै शिवाकोटीका पूर्खाहरुले जनैपूर्णिमा मेला भर्न आउने श्रद्धालु भत्तजनहरुलाई मन्दिरको पाटीमा दही चिउरा खुवाउने प्रचलन थियो । शहरीकरणको विकास साथै पशुपालनमा कमी आएपछि वि.सं २०३८ साल पछि रोकिएको थियो । विभिन्न कारणले रोकिएको दही चिउरा खाने र खुवाउने कार्यक्रम यो वर्षबाट शिवाकोटी समाज नेपालको नेतृत्वमा आजबाट पुःन सञ्चालन आएको होे । आज इष्टमित्र,बन्धु,चेलीबेटीसहितको बाक्लो उपस्थितिमा मन्दिरमा मेला भर्न आउने श्रद्धालुभक्तजनहरुलाई सम्मानका साथ दही,चिउरा खुवाइएको शिवाकोटी समाज नेपालका उपाध्यक्ष अशोक शिवाकोटीले बताउनुभयो ।
शिवाकोटी समाज नेपालका अनुसार कालिञ्चोक मन्दिर क्षेत्र र आसपासमा वनजंगल र खर्कमा शिवाकोटीहरु पशुपालन गर्थे । त्यो समय अहिलेको जस्तो होटल, पसल थिएन । जनैपूर्णिमा मेला भर्न आउने भक्तजनलाई दही चिउरा खुवाउने कार्य पशुपालनकै कारण सम्भव भएको थियो । कालिञ्चोक क्षेत्रमा अहिलेजस्तो होटल र खानपानको सुविधा नभएको समयमा समूदायबीचको हार्दिकता,अतिथि सत्कार र धर्म सेवाको लागि पुर्खाले दही चिउरा खाने र खुवाउने कार्य सञ्चालन गरेको अनुमान छ । शिवाकोटी समाजले कालिनाग मन्दिर,गणेश पाटी,शिव कुटी, चौघरा दरबार, श्रृङ्गेश्वर गुफा र कालिञ्चोकलाई धार्मिक सर्किटको रुपमा विकास गर्ने गरी कार्यक्रमको थालनी गरिसकेको बताइएको छ । समाजले चौघरा संरक्षण, गणेश पाटी निर्माण, शिव कुटी निर्माणको अभियान यस अगाडि नै शुरु गरिसकेको छ ।