भीमेश्वर नगरपालिका–५, पिपलबोटका कृष्ण बहादुर घतानी अहिले ५९ वर्षका भए । जीवनको पाँच दशकभन्दा बढी समय उनले निगालासँग बिताएका छन् । निगालाको सुगन्ध, हातमा लाग्ने काँडाको चिलचिलाहट र बुनेको डोकोको आकारसँगै उनका वर्षहरू गाँसिएका छन् ।

कृष्ण बहादुरले डोको बुन्ने यात्रा आठ वर्षकै उमेरमा सुरु गरेका थिए । बालक उमेरमै निगालो काट्ने, चिर्ने, भिजाउने र हातले बुन्दै गर्दा बिस्तारै सीप बस्दै गयो । उनी सानै छदा बुुबाको निधन भएकाले घरको सबै जिम्मेवारी उनको काँधमा आईपर्यो । गाउँघरमा डोकोबिनाको जीवन कल्पना नै गर्न नसकिन्थ्यो । अन्नपातदेखि घाँस दाउरा र घर, भवन निर्माण सामग्री हरेक वस्तु डोकोमै बोकिन्थ्यो । त्यही आवश्यकताले उनलाई सीप सिकायो, जीवन जिउने आधार बनायो ।
तीस वर्षअघि शैलुङ गाउँपालिका–१, शैलुङबाट भीमेश्वर नगरपालिका बसाइँ सरेका उनी अहिले ४ रोपनी जग्गामा दुईवटा घरका मालिक छन् । एउटा आफ्नै पसिनाले बनाएको, अर्को छोराले बनाएको । २०७२ सालको भूकम्पले गर्दा छोराको नाममा अर्को घर बनाउनु बाध्यता थियो । अहिले दुवै छोरा रोजगारीको खोजीमा विदेशिएका छन् । बुहारीहरु र नातिनातिनाहरु सबै सँगै एउटै घरमा बस्दै आएका छन् । गाउँमा काम नपाएपछि सहकारी र बैंकको ऋणमा टेकेर छोराहरू देश छोड्न बाध्य भए । घरमा कृष्ण बहादुर, उनकी श्रीमती र २ बुहारी र नातिनातिनाहरु गरी ५ जनाको जिन्दगी अडिएको छ—निगालो र डोकोमा ।
मेलुङ गाउँपालिका–१, पवटीबाट उनी निगालो ल्याउँछन् । एउटा निगालोको मूल्य १५ रुपैयाँसम्म पर्ने गर्छ । निगालोलाई चिर्ने, भिजाउने अनि डोको बुन्ने काम उनी विहान–बेलुकी र फुर्सदको समयमा गर्छन् । दिनमा तीनदेखि चारवटा डोको बुन्छन् । महिनामा ८० देखि १०० वटासम्म तयार हुन्छ । वर्षमा करिब १२ सय डोको । एउटा डोकोको थोक मूल्य ४०० रुपैयाँ पर्छ । यसरी वर्षको जम्मा आम्दानी ३५ देखि ४० हजार रुपैयाँ मात्र हुन्छ । जीवन धान्न, परिवार पाल्न यही पर्याप्त छैन, तर उनीसँग अर्को विकल्प पनि छैन ।
उनीसँग चोयाका अन्य सामग्री—डालो, फुङ्लो, थुन्से जस्ता चोयाका सामग्री बुन्ने सीप पनि छ । तर बजारमा त्यसको माग छैन माग डोकोकै छ, त्यसैले डोको नै उनको जीवनको जिउने गतिलो आधार बनेको छ । गाउँको खेतीपातीले ६–७ महिना मात्र खान पुग्छ । आफ्नो पर्याप्त जग्गा नभएकाले अरुको अदिया कमाउनुपर्छ । त्यसमा पनि आधा उत्पादन साहुलाई दिनुपर्ने बाध्यता छ । घरवरिपरि फल्ने थोरै मकै बाँदरले खाइदिन्छ । यसरी उनी वर्षैपिच्छे कठिनाइको चक्रमा बाँधिएका छन् ।
कृष्ण बहादुरको डोको बुन्ने काम मात्र होइनन्, घर बनाउने पनि सीप छ । गाउँमा कसैलाई घर बनाउन सहयोग चाहियो भने उनी हातैमा ठेला लिएर काम गर्छन् । तर आफ्नो मुख्य पेशा र घरखर्च टार्ने काम यही भने डोको नै हो । डोको बुनेर उनी आफैं बनेपा पु¥याउँछन् । आफू नजाँदा गाडीवालाले कहिले धुलिखेल झार्छन्, कहिले बसमा हालेर राजधानीतर्फ । त्यसैले उनी आफै डोको लिएर जाने गरेका छन् । तर त्यहाँसम्म पुग्दा पनि उनको श्रममा कर तिर्नुपर्ने बाध्यता छ । खरिढुंगा वा तीनपिप्ले चेकपोष्टमा ५०० देखि १००० रुपैयाँसम्म कर लिने गर्छन । “आफैले पसिना बगाएर बनाएको डोको पनि बेच्न सरकारलाई कर तिर्नुपर्ने,“ भन्दै उनी प्रायः गुनासो गर्छन् ।
उनको आँखामा अझै पुरानो समय ताजा छ । “सुरुमा त ५ रुपैयाँमै डोको बेच्थ्यौं,“ उनी सम्झन्छन्, “अब त सबै सामान महँगो भयो ।“ आङ ढाक्ने कपडादेखि नून तेल सबैको भाउ छोईसक्नु छैन । तर वस्तु महँगो हुँदा पनि निगालो, मेहनत र पसिनाको मूल्य भने अझै सस्तो नै लाग्छ । भूकम्पले भत्काएको घर, विदेशिएका छोराहरू, बाँदरले खाएको मकै, महङ्गो गाडीभाडा, डोकोको पनि कर तिर्नुपर्ने—यी सबै कठिनाइबीच पनि उनी हाँस्छन् । किनभने उनको जीवन डोकोजस्तै हो—भारी बोकेको तर सधैं टुटेन, भत्केन ।

कृष्ण बहादुर घतानीको कथा केवल एक व्यक्तिको जीवन मात्र होइन । यो कथा गाउँको सीप, श्रम र परिश्रमको दर्पण हो । आधुनिकीकरण र बजारले माग घटाइरहेको बेला पनि उनले आफ्नो सीपलाई मर्न दिएका छैनन् । उनी दिनहुँ निगालोको बोटसँग जुध्छन्, आफ्ना हातले भविष्य बुन्छन् र डोकोमा परिवारको जीवन बाँध्छन् । उनको कथा श्रमको मूल्य, सीपको सम्मान र गाउँमा अझै जीवित हस्तकला संस्कृतिको स्मरण हो । डोको अझै आवश्यक छ—तर त्यसलाई बुन्ने हात हराउँदै छन् । त्यसैले, कृष्ण बहादुर घतानी जस्ता हातहरूको संरक्षण गर्नु, उनीहरूको श्रमलाई उचित मूल्य दिनु स्थानीय सरकार र समाजकै जिम्मेवारी पनि हो ।