सदरमुकाम चरिकोटमा सञ्चालित गौरीशंकर बहुमुखी क्याम्पसले जिल्लाका विभिन्न सामाजिक, आर्थिक तथा विकाससम्बन्धी विषयमा केन्द्रित भई गरिएको अनुसन्धान सार्वजनिक गरेको छ ।
जिल्लाको आर्थिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक क्षेत्र र समग्र विकाससँग सम्बन्धित विषय समेटेर तयार पारिएका अनुसन्धान प्रतिवेदन स्थानीय सरोकारवालाहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो । अनुसन्धानमा क्याम्पसले जिल्लाका स्थानीय सरोकारसँग जोडिएका जल्दाबल्दा विषयवस्तुहरूलाई विशेष प्राथमिकताका साथ उठान गरेको छ ।
क्याम्पस प्रमुख शान्त बहादुर केसीका अनुसार किताबी ज्ञानमा मात्र सीमित नरही समसामयिक विषय र सामाजिक यथार्थबारे विद्यार्थीलाई जानकार बनाउने उद्देश्यले क्याम्पसले विगतदेखि नै अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिँदै आएको छ । क्याम्पसले रचनात्मक क्रियाकलापसँगै विभिन्न विषयमा केन्द्रित अध्ययन–अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेको उहाँले जानकारी दिनुभयो ।
अनुसन्धान प्रस्तुत गर्ने टोलीमा बालकृष्ण फुयाल, शान्त बहादुर केसी, करुणा श्रेष्ठ, नारायण प्रसाद सेढाई, विनिता शिवाकोटी, राजकुमार सुवेदी, विरसाम श्रेष्ठ, तारा बहादुर महत र रमिना श्रेष्ठ रहनुभएको क्याम्पस प्रमुख केसीले जानकारी दिनुभयो ।

अनुसन्धान सार्वजनिक कार्यक्रम अनुसन्धान टोलीका संयोजक नारायण प्रसाद सेढाईको अध्यक्षता तथा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, गौरीशंकर बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।