चाँगुनारायण नगरपालिका भक्तपुरका उपप्रमुख रमेश बुढाथोकी जनप्रतिनिधि बन्नुअघि नै समाजसेवामा सक्रिय, सहयोगी र संवेदनशील व्यक्तित्वका रूपमा परिचित रहँदै आउनुभएको छ । पेसाले व्यवसायी भए तापनि उहाँले समाजका सुख–दुःखमा निरन्तर साथ दिँदै आउनुभएको छ ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएपछि उहाँको सेवामुखी सोच सार्वजनिक जीवनमा अझ स्पष्ट रूपमा देखिन थालेको छ । निर्वाचित भई सपथ लिएकै दिन उपप्रमुख बुढाथोकीले नागरिकमाझ स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सरकारी गाडी बिरामी बोक्न प्रयोग गर्ने, तलब–भत्ता सामाजिक सेवामा खर्च गर्ने र व्यक्तिगत सेवा–सुविधा न्यूनतम रूपमा मात्र लिने । उक्त प्रतिबद्धता व्यवहारमै कार्यान्वयन हुँदै आएको देखिन्छ ।
नगरपालिकाको कार्यकक्षमा विभिन्न वडाबाट आएका नागरिकहरू आफ्ना समस्या लिएर आउने क्रम नियमित देखिन्छ । उपप्रमुख बुढाथोकीले नागरिकका गुनासो ध्यानपूर्वक सुन्ने र समाधानका उपाय खोज्ने शैली अपनाउँदै आउनुभएको छ । “नागरिकको समस्या समाधान गर्नु जनप्रतिनिधिको दायित्व हो” भन्ने दृष्टिकोण उहाँको कार्यशैलीमा स्पष्ट देखिन्छ ।
फुटपाथ व्यवस्थापनसम्बन्धी विषयमा उहाँले मानवीय र व्यवहारिक धारणा प्रस्तुत गर्नुभएको छ । “गरिखानेको रोजीरोटी खोसिनु हुँदैन, तर शहर सुरक्षित र व्यवस्थित हुनुपर्छ,” भन्ने उहाँको भनाइअनुसार नगरप्रहरीलाई संवादमार्फत समाधान खोज्न, कसैको सामान नफाल्न र त्रास होइन सहकार्यमा आधारित व्यवस्थापन गर्न निर्देशन दिइएको छ । यसले विकास र मानवताको सन्तुलन कसरी कायम गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
शिक्षा र बालअधिकारप्रति उपप्रमुख बुढाथोकीको प्रतिबद्धता पनि उल्लेखनीय छ । उहाँले आफ्नै व्यक्तिगत आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिका वडा नं. ६, नगरकोटस्थित तौथली आधारभूत विद्यालयमा अध्ययनरत ४० जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । यसअघि वडा नं. ६ कै गडगडे आधारभूत विद्यालय तथा वडा नं. २ स्थित आजाद माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पनि ट्र्याकसुटलगायत आवश्यक सामग्री सहयोग गरिएको थियो । उक्त सहयोग पूर्ण रूपमा व्यक्तिगत स्रोतबाट गरिएको हो । जनप्रतिनिधि बन्नुअघि पनि उहाँ समाजसेवामा सक्रिय रहँदै आउनुभएको थियो । दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नं. ८ स्थित श्री शारदा माध्यमिक विद्यालय परिसरमा सरस्वती माता मन्दिर निर्माणका लागि गरिएको आर्थिक सहयोग उहाँको सामाजिक उत्तरदायित्वको अर्को उदाहरण हो ।
“पद, सुविधा र पहुँच समाजका कमजोर वर्गका हितमा प्रयोग हुनुपर्छ” भन्ने सोच र व्यवहारले उपप्रमुख रमेश बुढाथोकीले स्थानीय तहमा सुशासन, पारदर्शिता र सेवामुखी राजनीतिप्रति नागरिकको भरोसा बढाउँदै लैजानुभएको छ । उहाँ आज चाँगुनारायण नगरपालिकाका उपप्रमुख मात्र नभई, इमानदार, संवेदनशील र सेवामुखी जनप्रतिनिधिको नमुना रूपमा स्थापित हुँदै जानु भएको देखिन्छ ।