फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोलखामा चार हजारभन्दा बढी मत बदर भएको छ । निर्वाचनमा खसेको कुल मतमध्ये ४ हजार ४ सय ६० मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।
दोलखा जिल्लामा कुल १ लाख ७० हजार ३२१ मतदाता रहेका छन् । तीमध्ये ८४ हजार २७५ मत खसेको थियो, जुन कुल मतदाताको करिब ४९.६० प्रतिशत हो । खसेको मतमध्ये ५.२९ प्रतिशत मत बदर भएको तथ्यांकले देखाएको छ ।
निर्वाचन आयोगले गाउँ–गाउँमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम भने रोकिएको छैन । मतदातालाई आफूले रोजेको उम्मेदवारलाई सही तरिकाले मत हाल्न सिकाउन विभिन्न अभियान सञ्चालन गरिए पनि व्यवहारमा भने अझै त्रुटि देखिने गरेको छ । मतपत्रमा एकभन्दा बढी ठाउँमा छाप लगाउने, चिन्ह बाहिर छाप लाग्ने वा अन्य प्राविधिक त्रुटिका कारण मत बदर हुने गरेको निर्वाचन सम्बन्धी अधिकारीहरू बताउँछन् ।
दोलखा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिसकिएको भए पनि निर्वाचनमा उल्लेख्य मात्रामा मत बदर हुनु चिन्ताको विषय बनेको छ । दोलखालाई २०७० असार १० गते साक्षर जिल्ला घोषणा गरिएको थियो । साक्षरता अभियानअन्तर्गत जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिकले पढ्न–लेख्न सक्ने भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।
तथ्यांकअनुसार दोलखाको समग्र साक्षरता दर करिब ७२ प्रतिशत आसपास रहेको छ भने ग्रामीण क्षेत्रहरूमा यो दर अझै कम देखिन्छ । शिक्षा र साक्षरतामा सुधार हुँदै गए पनि मतपत्र प्रयोग गर्ने प्रक्रियामा अझै स्पष्ट बुझाइ अभाव हुँदा मत बदर हुने समस्या देखिएको विश्लेषण गरिएको छ ।
निर्वाचनमा मत बदरको संख्या घटाउन मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा मत हाल्ने तरिका, मतपत्र चिन्ह लगाउने विधि, मतपत्र पट्याउने र मतदान प्रक्रियाबारे निरन्तर सचेतना आवश्यक रहेको उनीहरूको भनाइ छ ।