रामेछाप जिल्लाका उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा फैलिएको पर्यटकीय गन्तव्य नुम्बुर चीज सर्किट पुनः सञ्चालनको तयारीमा रहेको छ । धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा समृद्ध यस क्षेत्रलाई पुनर्जीवित गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सरोकारवाला निकायहरू सक्रिय भएका छन् ।
२०६२ सालदेखि सञ्चालनमा आएको यो सर्किट करिब एक दशकपछि बन्द भएको थियो । विशेषतः २०७२ सालको भूकम्पपछि पदमार्ग, संरचना र पूर्वाधारमा क्षति पुगेपछि सर्किट पूर्ण रूपमा ठप्प बनेको थियो । हाल भने बाटोघाटो मर्मत, पूर्वाधार पुनर्निर्माण तथा व्यवस्थापन सुधार गर्दै पुनः सञ्चालनको तयारी भइरहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्तर्गत इलाका संरक्षण कार्यालय, शिवालय रामेछापका इलाका इन्चार्ज शंकर थामीले जानकारी दिनुभयो ।
थामीका अनुसार, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा निर्माण गरिएको पदमार्गका केही भाग भूकम्पले क्षतिग्रस्त बनाएको छ । कतिपय स्थानमा पानीका स्रोत सुकेका छन् भने पोटर सेल्टरहरू भत्किएका छन् । “स्थानीय सरकार, संघसंस्था र समुदायसँगको सहकार्यमा आवश्यक मर्मत तथा पुनःस्थापना गरेर छिट्टै सर्किट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” थामीले भन्नुभयो ।
नुम्बुर चीज सर्किट व्यवस्थापन समितिका पूर्वकोषाध्यक्ष आङिमा शेर्पाका अनुसार, पछिल्लो समय विकासका नाममा जताततै सडक विस्तार हुँदा पदयात्राका लागि उपयुक्त मार्गहरू घट्दै गएका छन् । “विदेशी पर्यटकहरू लामो समयसम्म पदयात्रा गर्न चाहन्छन्, तर अहिले वनजंगल र प्राकृतिक मार्गहरू पनि सडकले ढाकिँदै गएका छन् । यस्तो अवस्थामा शिवालयदेखि सुरु हुने यो सर्किट पुनः सञ्चालनमा ल्याउन सके विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ,” उहाँले बताउनुभयो ।
यो सर्किट अन्तर्गत शिवालय, चुचुरे, सेर्दिङ, गुम्देल, क्यामा लगायतका बस्तीहरूमा पर्यटक आगमन हुँदा होटल व्यवसाय फस्टाउँथ्यो र स्थानीयलाई रोजगारीको अवसर मिल्थ्यो । विदेशी पर्यटकले करिब १४ दिन र नेपाली पर्यटकले करिब ७ दिनमा पूरा गर्न सकिने यो सर्किट प्राकृतिक सौन्दर्य र साहसिक यात्राका लागि उपयुक्त मानिन्छ ।
यस पदमार्गबाट नुम्बुर हिमाल, गौरीशंकर हिमालसहित अन्य हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । साथै, खोलानाला, भीरपाखा, वनजंगल, घोरल, नाउर, भालु, रेडपाण्डा, कालिज, डाँफे लगायतका वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्न पाइन्छ, जसले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ ।
सिजनका बेला खर्कहरूमा चौरी गोठ राख्ने चलन छ भने विभिन्न स्थानमा चीज उत्पादनका डेरीहरू सञ्चालनमा आउने गरेका छन् । पहिले करिब ३२ भन्दा बढी चौरी गोठ र आधा दर्जनभन्दा बढी चीज डेरी सञ्चालनमा रहे पनि हाल तिनको संख्या घटेर न्यून भएको स्थानीयले बताएका छन् ।
पुरानो पदमार्ग अनुसार शिवालय, खहरे, पानीपाखा, मानेडाँडा, जटापोखरी, खोलाखर्क, टाडीखर्क, ग्याजोला पास, ङेजुखर्क, ल्छ्योर, गुम्देल, सेर्दिङ, देउराली, लाचने र ठोसे हुँदै सर्किट पूरा गरिन्थ्यो । तर, हाल नुप्चे लिखु जलविद्युत आयोजनाले केही स्थानसम्म सडक निर्माण गरेपछि पदयात्राको दूरी छोटिएको छ । पर्यटक आकर्षणका लागि पदमार्गमा पानीको व्यवस्थापन, सरसफाइ, साइनबोर्ड स्थापना, पोटर सेल्टरहरूको मर्मत तथा पुनःनिर्माण आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
यस क्षेत्रका पोखरी, जडीबुटी, हिमाल दृश्य, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षण र प्रवद्र्धनका लागि उमाकुण्ड, गोकुलगंगा गाउँपालिका तथा जिरी नगरपालिकासँग समन्वय गरी प्रचारप्रसारलाई तीव्रता दिने योजना रहेको इलाका इन्चार्ज थामीले जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्प र कोभिड–१९ महामारीपछि पनि सन् २०२३ देखि २०२५ सम्म ३४ जना विदेशी पर्यटक (२१ महिला र १३ पुरुष) ले नुम्बुर चीज सर्किट भ्रमण गरेको तथ्याङ्क कार्यालयसँग रहेको छ ।
स्थानीय समुदाय, सरकार र सरोकारवाला निकायहरूको संयुक्त प्रयासले पूर्वाधार सुधार र व्यवस्थापन सुदृढ गर्न सकेमा नुम्बुर चीज सर्किट पुनः एक आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।