दोलखा उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा जिल्लाका उद्यमी तथा व्यवसायीहरू चुनावी माहोलमा व्यस्त बनेका छन् । यही वैशाख ३१ गते हुने संघको १६ औँ अधिवेशनमार्फत आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन हुने भएपछि नेतृत्व आफ्नो पक्षमा पार्न दुई छुट्टाछुट्टै प्यानल सक्रिय रूपमा चुनावी मैदानमा उत्रिएका हुन् ।
संघको नेतृत्वका लागि हाल दोलखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश पाठक र नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिका सदस्य सनत थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रारम्भिक चरणमा वर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ पुनः अध्यक्षमा दोहोरिने चर्चा चले पनि अन्ततः उनले आफ्नो समूहबाट सनत थापालाई अघि सारेका छन् ।
दोलखा उद्योग वाणिज्य संघमा एक हजारभन्दा बढी मतदाता रहेका छन् । चरिकोटसहित सिंगटी, मैनापोखरी र मागादेउराली शाखाका सदस्यहरूले मतदान गर्न पाउनेछन् । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू अहिले मतदाता भेटघाट, घरदैलो, शाखा भ्रमण र छलफलमा व्यस्त छन् । व्यवसायीहरूको विश्वास जित्न दुवै पक्षले चुनावी अभियानलाई तीव्र बनाएका छन् ।
भोलिदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने भएकाले अन्तिम तयारीमा दुवै समूह जुटेका छन् । हालसम्म सबै पदाधिकारीसहित पूर्ण समिति टुंगो नलागे पनि आज बेलुकासम्म प्यानलले अन्तिम रूप लिने दाबी दुवै पक्षले गरेका छन् ।
आकर्षक नारा र योजनासहित चुनावी प्रतिस्पर्धा
अध्यक्षका उम्मेदवार दिनेश पाठकले “संस्थागत विकास, व्यवसाय प्रवद्र्धन र समृद्ध चरिकोट”लाई मुख्य चुनावी एजेण्डा बनाएका छन् । उनले व्यवसायीहरूको हकहित, स्थानीय बजारको सुदृढीकरण, युवा उद्यमशीलता विकास तथा पर्यटनसँग जोडिएको व्यापार विस्तारमा जोड दिएका छन् ।
यता सनत थापाले “व्यवसायीमैत्री वातावरण र पारदर्शी नेतृत्व”को नारासहित चुनावी अभियान अघि बढाएका छन् । उनले संघलाई थप जिम्मेवार, जवाफदेही र प्रभावकारी बनाउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने तथा साना तथा मझौला व्यवसायीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुस्त व्यापारमा नयाँ नेतृत्वप्रति आशा
पछिल्लो समय दोलखाको व्यापार–व्यवसाय सुस्त बन्दै गएको व्यवसायीहरूको गुनासो छ । बजारमा आर्थिक चलायमानता घट्दै जाँदा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले व्यवसायिक वातावरण सुधार गर्ने अपेक्षा गरिएको छ ।
व्यवसायीहरू अहिले बैंकको चर्को ब्याजदर, घट्दो क्रयशक्ति, बजारमा उपभोक्ताको कमी, वैदेशिक रोजगारीका कारण घट्दो स्थानीय जनशक्ति तथा अनलाइन व्यापारको चुनौतीसँग जुधिरहेका छन् । यस्तो अवस्थामा नयाँ नेतृत्वले व्यवसायीमैत्री नीति, लगानी प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण र बजार व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्नुपर्ने आवाज उठ्न थालेको छ ।
त्यस्तै, पर्यटन राजधानीको सम्भावना बोकेको दोलखामा व्यापार, कृषि, पर्यटन र स्थानीय उत्पादनलाई एकीकृत गर्दै आर्थिक गतिविधि बढाउन सकिने व्यवसायीहरूको धारणा छ । नयाँ नेतृत्वले निजी क्षेत्र र स्थानीय सरकारबीच समन्वय बढाउँदै लगानीमैत्री वातावरण निर्माण गर्न सके जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।