दोलखा उद्योग वाणिज्य संघको २५ औँ साधारणसभा आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । जिल्लाका उद्योगी, व्यवसायी तथा सरोकारवालाको सहभागितामा आयोजित साधारणसभाले संघको विगत तीन वर्षको गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे समीक्षा समेत गरेको छ ।
संघको १६ औँ अधिवेशन गत वैशाख ३१ गते सम्पन्न भए पनि विशेष कारणवश सोही समयमा साधारणसभा आयोजना गर्न नसकिएकाले आज विधानअनुसार साधारणसभा सम्पन्न गरिएको संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार संघको विधानले अधिवेशन सम्पन्न भए पनि साधारणसभा अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था गरेकाले सदस्यहरूको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो ।
साधारणसभामा संघका महासचिव सुरेश उप्रेतीले तीन वर्षे कार्यकालमा संघले सञ्चालन गरेका विभिन्न गतिविधि, उद्योग तथा व्यवसाय प्रवद्र्धनका प्रयास, निजी क्षेत्रका समस्या समाधानका लागि भएका पहल तथा भावी योजनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनमा स्थानीय उत्पादनको प्रवद्र्धन, व्यवसायिक वातावरण सुधार, उद्यमशीलता विकास तथा पर्यटनसँग जोडिएका आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले दोलखाको आर्थिक विकास, निजी क्षेत्रको सुदृढीकरण तथा लगानीमैत्री वातावरण निर्माणका लागि उद्योगी–व्यवसायी, स्थानीय सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । उनीहरूले व्यवसायमैत्री नीति, उत्पादनमुखी उद्योगको विस्तार तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत जिल्लाको आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका थिए ।
कार्यक्रम संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला–नगर उपाध्यक्ष दिलसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सनत थापा, उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । साधारणसभाले निजी क्षेत्रको हकहित संरक्षण, उद्यमशीलताको विकास, रोजगारी सिर्जना तथा जिल्लाको समग्र आर्थिक उन्नयनका लागि संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।