दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट यज्ञबहादुर खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित ११ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा देवराज दाहाल, उपाध्यक्षमा भगवान तिवारी, महासचिवमा दिपेन्द्र खुलाल, सचिवमा सन्तोष थापा तथा कोषाध्यक्षमा सुमन कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा त्रिकास जिम्बा तामाङ, अविरल राउत क्षेत्री, रामेश्वर थापा, भुवन खत्री र मनिषा बस्नेत निर्वाचित भएका छन् ।

दोलखाबाट रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा दक्षिण कोरिया पुगेका दोलखालीहरूको साझा संस्थाको रूपमा स्थापित दोलखाली समाज दक्षिण कोरियाले लामो समयदेखि सामाजिक तथा मानवीय क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको छ ।
संस्थाले दोलखाका विभिन्न विद्यालयहरूमा शैक्षिक सामग्री सहयोग, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, स्वास्थ्य संस्थालाई आवश्यक सामग्री सहयोग, प्राकृतिक विपद्का समयमा राहत वितरण तथा सञ्चार क्षेत्रलाई समेत सहयोग गर्दै आएको छ । साथै नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणको लागि समेत सहयोग गरेका छन् । यस्ता सहयोगले जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई प्रत्यक्ष राहत पुगेको स्थानीयले बताएका छन् ।
विशेषगरी आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुन सक्ने नागरिकलाई संस्थाले दिएको सहयोगले सकारात्मक परिवर्तन ल्याएको छ । विद्यालयहरूमा शैक्षिक वातावरण सुधार, स्वास्थ्य संस्थामा सेवा विस्तार तथा विपद्का बेला तत्काल राहत उपलब्ध गराउन संस्थाको भूमिका प्रभावकारी देखिएको छ ।
दक्षिण कोरियामा रहेका दोलखालीहरूबीच आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्न समेत संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समस्यामा परेका नेपालीलाई आर्थिक तथा नैतिक सहयोग गर्दै आएको संस्थाले विदेशमा रहेका दोलखालीहरूलाई एकताबद्ध बनाउने काम गरेको दोलखाली समाज दक्षिण कोरिकाका पूर्वअध्यक्ष सरोज केसीले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा दोलखाको शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा विपद् व्यवस्थापनका क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ ।