गत जेठ १० गते गौरीशंकर–३ झ्याँकुका यान बहादुर बस्नेत मृत फेला परेको थियो । उक्त घटनामा संलग्न भनिएकी १९ वर्षीय युवतीले जिल्ला अदालत दोलखामा बयान फेरीकी छन् । स्रोतका अनुसार घट्नाका अभियुक्तमध्ये अदालतले सोमवार दुई जनाको बयान लिएको छ । हत्यामा संलग्न भनिएकी मृतक युवककी १९ वर्षिया प्रेमिका र उनका बुवाको बयान भएको र बाँकी तीन जनाको बयान मंगलवार हुनेछ । स्रोतले दिएको जानकारी अनुसार प्रहरी अनुसन्धानको क्रममा युवकको हत्या स्वीकार गरेकी युवतीले अदालतमा बयान फेरेकी छन् ।
प्रहरीसँग ती युवतीले घर प्रवेश गरेर रातको समयमा विवाहका लागि जवरजस्ती गर्न खोजेपछि प्रतिकारका क्रममा युवकको घाँटी अठ्याउँदा मृत्यु भएको बयान दिएकी थिईन् । तर अदालतमा बयानका क्रममा उनले मादक पदार्थ सेवन गरेर घरमा आएको र पछि कसरी मृत्यु भयो ? आफुलाई थाहा नभएको भन्दै हत्या गरेको कुरा अस्वीकार गरेकी छन् । प्रहरीसँगको बयानमा आफु दवावमा परेर फरक बोल्न पुगेको विरोधाभासपूर्ण बयान युवतीको छ । उनका बुवाले पनि घट्नाको दिन आफू गोठमा रहेको भन्दै हत्यामा आफू नरहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाले असार २ गते पत्रकार सम्मेलन आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको जनाएको थियो । पत्रकार सम्मेलनमा प्रहरीले रातको समयमा घरमा प्रवेश गरेर विवाहका लागि जवरजस्ती गर्न खोजेपछि प्रतिकारका क्रममा घाँटी अठ्याउँदा युवकको मृत्यु भएको युवतीले बयान दिएको विवरण सार्वजनिक गरेको थियो ।
गत जेठ १० गते राती घट्ना भएपनि युवकको शव भोलीपल्ट बिहान युवतीको घरबाट करिव ७० मिटर टाढा जंगलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रहरीले तीन साता लामो समय अनुसन्धानपछि युवकको कर्तव्य गरी हत्या गरिएको निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति:
मंगलबार, असार ७, २०७९, ०८:५०:००