चरिकोट, २१ पुष
दोलखाको रोल्वालिङ क्षेत्रमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । चिसोको कारण दैनिकीमा अझ कष्टकर हुनुका साथै होटलहरु पूरै बन्द हुन पुगेका छन् ।
हिउँ नपरे पनि चिसो बढेकोले बिहानैदेखि हुुस्सु लाग्ने गरेको छ । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए तापनि हालसम्म हिमपात भएको छैन । त्यस क्षेत्रमा चिसो बढ्दै गएपछि ना गाउँ, वेदिङ, क्याल्चे र सुर्मुचेमा रहेका होटलहरु बन्द भएका छन् । यहाँका अधिकांश होटल व्यवसायीहरु गाउँ छाडेर काठमाडौ लागेका छन् । कतिपय स्थानीयहरुले गाई, चौरी र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न काठमाडौ लागेको स्थानीय दोर्जेछिरी शेर्पाले बताउनु भयो ।
गत वर्षभन्दा यस वर्ष पर्यटकको चाप बढे तापनि होटल नभएपछि पर्यटकहरु गन्तव्यमा पुग्न पाएका छैनन् । कतिपय पर्यटकहरुले होटल व्यवसायीलाई काठमाडौबाटै बोलाएर पनि बस्ने खानेको व्यवस्था गरिएको छ । भर्खर च्छोरोल्पा, दूधकुण्ड भ्रमणका गरी फर्कनु भएका दोलखाका जिल्ला न्यायधीश डिल्लीरत्न श्रेष्ठले ठाउँ राम्रो रहेको तर होटल व्यवसायीहरु नभेटेपछि खिन्न मन लागेको बताउँनु भयो । त्यस क्षेत्रमा विभिन्न विकल्प अपनाएर होटल व्यवसायीहरु बसिदिने हो भने १२ महिनै पर्यटकको घुँइचो लाग्ने न्यायधीश श्रेष्ठले बताउनु भयो ।
चिसोकै कारण अहिले पर्यटकहरु यस ठाउँमा देख्न पाईदैन । प्राय गरेर यस ठाउँका होटल व्यवसायीहरु चिसो मौसममा दुई महिनासम्म काठमाडौमा बस्ने गर्छन । अधिकांशको घरमा ताल्चा झुण्डाएको हुन्छ । घरको रेखदेखको लागि ज्येष्ठ नागरिकहरु मात्र गाउँमा रहने गरेको स्थानीय होटल व्यवसायी दोमी लामाले बताउनु भयो । चिसो मौसममा पर्यटक आएपनि सेवा दिन गाह्रो हुने लामाले बताउनु भयो । धाराको पानी जम्मै जमेको हुन्छ । राति दुई ÷तिन वटा सिरोक ओढ्दा पनि जाडोबाट बच्न गाह्रो हुने भएकाले गाउँ छाड्न बाध्य हुने उहाँले बताउनु भयो ।
यति लामो यात्रामा आफू पहिलो पटक निस्केको र जाडोको खासै महशुुस नभएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले बताउनु भयो । दोलखाको सबै भूगोल राम्रो लागेको तर च्छोरोल्पा धेरै पटक नाम सुनेको हुनाले जाडो मौसममै भएपनि घुम्न पुगेको गंगा प्रसाद पौडेलले बताउनु भयो । बासको लागि होटल व्यवसायी नभेट्ला कि भन्ने डर मात्र रहेको पौडेलले बताउनुु भयो ।
प्रकाशित मिति:
बिहीबार, पुस २१, २०७९, १५:४४:००