जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखिे सिङ्गटीस्थित खोलिखिम मैदानमा सुरु हुँदैछ ।
यसअघि सदमुकाम चरिकोटमा मात्र सञ्चालन गरिँदै आएको प्रतियोगिता यस पटक सिंगटीमा आयोजना गर्ने गरिएको हो । प्रतियोगिता जिल्ला खेलकुद विकास समिति दोलखा आयोजक र विगु गाउँपालिका सहआयोजक रहेको जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले जानकारी दिनुभयो ।
खेलाडी र व्यवस्थापक टिमलाई पालिकाले स्थानीय होटल तथा घरमा खाने बस्ने सुविधा मिलाएको व्यवस्थापन टिमका अध्यक्ष विमल ओलीले जानकारी दिनुभयो । विगु गाउँपालिकाले खेल क्षेत्रको विकासका साथै खेल पर्यटनमा टेवा पुग्ने अपेक्षा राख्दै प्रतियोगिता सञ्चालन गर्न जिम्मेवारी लिएको जनाएको छ ।
प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत र १८ वर्ष उमेर ननाघेका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भलिबल, दौड, रिले दौड, कपर्दी, हाइजम्प, ट्रिपल जम्प, सटफुट, ज्याबलिङ थ्रो, सितेरियो कराँते लगायत खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
दोलखाका ९ वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरी खेलाडी छनौट गरिसकेका छन् । जिल्लामा छनौट भएका खेलाडी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । कार्यक्रम उद्घाटन जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीको अध्यक्षता र दोलखाका संघीय सांसद गंगा कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिता माघ १३ गतेसम्म सञ्चालन हुनेछ ।