दोलखाको विगु गाउँपालिका स्वास्थ्य शाखा जिल्लाका स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखामध्ये प्रथम भएको छ । जनस्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन तथा सम्पादन भएका स्वास्थ्य कार्यक्रम लगायतलाई विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दा विगु गाउँपालिका स्वास्थ्य शाखा प्रथम भएको हो ।

सदरमुकाम चरिकोटमा आयोजित आर्थिक वर्ष २०८२/०८३ को जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा विगुलाई प्रथम घोषणा गरिएको हो । जिल्लाका नौ स्थानीय तहका स्वास्थ्य शाखामध्ये स्वास्थ्य सेवा तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र तोकिएका सूचकमा गरेको कार्यसम्पादनका आधारमा विगु प्रथम भएको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्रथम भएको अवसरमा विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीलाई सम्मानपत्रसहित खादा लगाएर सम्मान गरिएको छ । विगु स्वास्थ्य शाखा यसअघि पनि लगातार दुई पटक प्रथम भएको थियो । उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
सूचकका आधारमा भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा द्वितीय र कालिञ्चोक गाउँपालिका स्वास्थ्य शाखा तृतीय भएका छन् । जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढामगरका अनुसार स्वास्थ्यकर्मीको मनोबल बढाउनुका साथै स्वास्थ्य कार्यक्रमलाई थप प्रभावकारी बनाउन आर्थिक वर्ष २०८०/०८१ देखि स्थानीय तहका स्वास्थ्य शाखाबीच सूचकमा आधारित मूल्यांकन गरी उत्कृष्ट शाखालाई सम्मान गर्ने अभ्यास सुरु गरिएको हो ।
‘कुन शाखाले कति काम ग¥यो भन्ने कुरा तथ्य र सूचकबाटै देखिने भएकाले यसले स्वास्थ्यकर्मीलाई आफ्नो कार्यसम्पादन सुधार गर्न थप प्रेरित गर्छ,’ प्रमुख बुढामगरले भन्नुभयो, ‘उत्कृष्ट कार्य गर्ने शाखालाई सम्मान गर्दा स्वास्थ्यकर्मीमा उत्साह बढ्नुका साथै आगामी वर्ष अझ राम्रो गर्ने सकारात्मक प्रतिस्पर्धाको वातावरणसमेत निर्माण हुन्छ ।’
सूचकमा आधारित मूल्यांकनले स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीलाई नियमित कार्यक्रम सञ्चालन गर्न मात्र नभई त्यसको नतिजाप्रति पनि जिम्मेवार बनाउने अपेक्षा गरिएको छ । एउटै क्षेत्रमा काम गरिरहेका स्वास्थ्य शाखाबीच स्वस्थ प्रतिस्पर्धा हुँदा सेवा प्रवाहमा देखिएका कमजोरी पहिचान गर्न, सुधारका लागि योजना बनाउन र नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तर बढाउन सहयोग पुग्ने जनस्वास्थ्य कार्यालयको भनाइ छ ।
स्वास्थ्य शाखाको मूल्यांकनका लागि जनस्वास्थ्य कार्यालयको नेतृत्वमा छनोट समिति गठन गरिन्छ । समितिले निर्धारण गरेका मापदण्ड तथा सूचकका आधारमा स्थानीय तहका स्वास्थ्य शाखाको कार्यसम्पादन मूल्यांकन गर्ने गरिएको छ । सूचकमा नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, गर्भवती जाँच, सुत्केरी सेवा, शून्य होम डेलिभरी, आमा तथा शिशु मृत्युको अवस्था, बालबालिकाको पोषण अवस्था लगायत स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम समेटिने गरेका छन् । यसका साथै स्वास्थ्य शाखाको प्रशासनिक अवस्था र कार्यक्रम कार्यान्वयनको समग्र अवस्थालाई समेत मूल्यांकनको आधार बनाइने जनाइएको छ ।
सूचकका आधारमा गरिने यस्तो मूल्यांकनले कुन स्थानीय तहमा स्वास्थ्य कार्यक्रम प्रभावकारी छन् र कहाँ सुधार आवश्यक छ भन्ने पहिचान गर्नसमेत सहयोग पुग्ने बताइएको छ । उत्कृष्टलाई सम्मान र कमजोर पक्षलाई सुधारका लागि प्रोत्साहन गर्ने भएकाले यसले स्थानीय तहका स्वास्थ्य शाखालाई सेवाको नतिजा सुधारतर्फ केन्द्रित गराउने अपेक्षा गरिएको छ ।