विकास निर्माण र पालिकाको सेवा प्रवाहको बारेमा विद्यार्थीले चासो राख्न थालेका छन् । एपेक्स स्कुलले आयोजना गरिएको एपेक्स टकमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतलाई विद्यार्थीहरुले भीमेश्वर नगरपालिकाको विकास र सेवा प्रवाहको विषयमा प्रश्न राखेका थिए ।
शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन विकास, सडक निर्माण र नागरिकले पाउने नैसर्गिक अधिकारहरु पाएका छन् कि छैनन् भनि उपप्रमुख कमला बस्नेतलाई कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरुले जिज्ञासा, गुनासो र प्रश्न गरेका थिए । अपाङ्गमैत्री वातावरण, छात्रवृत्ति, शैक्षिक सामग्री लगायतका प्रश्नहरु पनि विद्यार्थीहरुले उपप्रमुखलाई प्रश्न सोधेका थिए ।
यस खालको कार्यक्रम सम्भवत नेपालको विद्यालयहरुमा विरलै प्रयोगमा छ भने दोलखाको हकमा पहिलो हो । ‘एपेक्स टक’ मा जनप्रतिनिधिहरुलाई जिम्मेवार र जवाफदेही बनाउनको लागि कार्यक्रम आयोजना गरिएको एपेक्स स्कुलका प्रिन्सिपल नसिव कायस्थले बताउनु भयो । साथै विद्यार्थीलाई जुनकुनै मञ्चमा आफ्नो प्रश्न, विचार निर्धक्क राख्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले एपेक्स टकको थालनी गरिएको प्रिन्सिपल कायस्थले जानकारी दिनुभयो ।
एपेक्स टकमा एलेक्स श्रेष्ठ, सुअंकिता श्रेष्ठ, आरोग्य श्रेष्ठ, रिदम बस्नेत लगायतले उपप्रमुख कमला बस्नेतलाई प्रश्न गरेका थिए । उनीहरुले आफूले भोगेका, देखेका र सुनेका समस्यालाई उपप्रमुख समक्ष प्रश्न गरेका हुन । कार्यक्रमलाई कक्षा ७ मा अध्ययनरत फुर्साङ तामाङले सहजीकरण गरेका थिए ।
यस खालको कार्यक्रमबाट बालबालिकाको आत्मविश्वास बढेको र आफूले राखेको प्रश्नको सम्बन्धित प्रतिनिधिबाट उत्तर पाउँदा थप हौसला मिलेकाले आगामी शैक्षिक सत्रबाट हरेक महिना एक जना अतिथिलाई बोलाएर कार्यक्रमलाई निरन्तरता दिईने स्कुलका प्रिन्सिपल नसिव कायस्थले बताए ।