हुलाक सेवा अब चिठीपत्र ओसारपसारमा मात्र सीमित नरहेको जिल्ला हुलाक कार्यालय दोलखाले जनाएको छ । प्रविधिको विकाससँगै हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न नयाँ सेवाहरू विस्तार गर्दै आएको कार्यालयले जनाएको हो ।

१५२ औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय दोलखाले पत्रकारहरूसँग अन्तरक्रिया तथा कार्यालयबाट सम्पादित गतिविधिबारे जानकारी गराउँदै यस्तो जानकारी दिएको हो । दोलखाका जिल्ला हुलाक अधिकृत गणेश न्यौपानेले हुलाक सेवालाई समयअनुकूल परिवर्तन गर्दै नागरिकको आवश्यकताअनुसार सेवा प्रवाहमा जोड दिइएको बताउनुभयो ।
नयाँ स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार जिल्लामा एक जिल्ला हुलाक कार्यालय, एक भीमेश्वर हुलाक काउन्टर र पाँच स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा रहेका छन् । साविकका अतिरिक्त हुलाक कार्यालयका जनशक्तिसमेत कार्यरत रहेको र ५८ वर्ष उमेरका कारण अवकाश भएपछि पुनः पदपूर्ति नहुने अवस्था रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हुलाक वस्तुको प्राप्ति तथा वितरणसँगै राहदानीसमेत सेवाग्राहीको घर ठेगानामै पु¥याउने सेवा सञ्चालनमा छ । जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय दोलखाबीच २०८३ साल बैशाख १६ गते भएको सम्झौताअनुसार सेवाग्राहीले ५५ रुपैयाँ अतिरिक्त शुल्क तिरेमा राहदानी घरमै पु¥याउने व्यवस्था गरिएको छ । सम्झौता भएदेखि हालसम्म ५०९ थान राहदानी सम्बन्धित व्यक्तिको घर ठेगानामै वितरण गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, सेवाग्राहीले दर्ता गरेको हुलाक वस्तुको अवस्था थाहा पाउन पोष्टल इन्टरनल ट्रयाकिङ सिष्टम सञ्चालनमा ल्याइएको छ । हाल पाँच वटा कार्यालयबाट सेवा सञ्चालन भइरहेको र चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय हुलाक कार्यालयमार्फत सेवा सञ्चालन गर्ने लक्ष्य रहेको बताइएको छ ।
हुलाक कार्यालयले टेन्डर डकुमेन्ट, लाइसेन्स, अदालतका मिसिललगायत अन्य हुलाक वस्तुको वितरण तथा ओसारपसार सेवा पनि सुरु गरेको छ । स्वीकृत कानुन तथा विज्ञापन बोर्डको निर्देशनअनुसार लोक कल्याणकारी विज्ञापनको अनुगमन तथा भुक्तानीसम्बन्धी कामसमेत गर्दै आएको कार्यालयले जनाएको छ ।
कालिञ्चोक गाउँपालिका–५ मा ‘स्मार्ट हुलाक’ सञ्चालनको प्रक्रियासमेत अघि बढाइएको छ । सूचना हकसम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ मा उल्लेखित सूचनाको हक कार्यान्वयनका लागि जिल्ला अनुगमन इकाईको सचिवालयका रूपमा समेत कार्यालयले काम गर्दै आएको जनाएको छ ।
कार्यालयले सेवा प्रवाहका क्रममा भौगोलिक कठिनाइ तथा विभिन्न वित्तीय संस्थाबाट प्राप्त हुने, विशेषगरी ऋण असुलीसँग सम्बन्धित पत्रहरू बुझ्न नमानेका कारण पत्र फिर्ता बढ्दै जानेलगायतका समस्या रहेको समेत जनाएको छ । पत्रकारहरूसँगको अन्तरक्रियामा हुलाक सेवाको सुधार तथा आगामी दिनमा गर्नुपर्ने कामबारे सुझावसमेत संकलन गरिएको थियो ।