भीमेश्वर नगरपालिका–५ मा आयोजित खसीबोका मेलामा स्थानीय कृषक शिवराम कार्कीले पालेको बोका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य अवस्था, सरसफाइ, बीमा, उमेरअनुसारको तौललगायतका मापदण्डका आधारमा गरिएको मूल्याङ्कनमा कार्की प्रथम भएका हुन् ।

मेलामा कमला श्रेष्ठ द्वितीय, सुन्तली श्रेष्ठ तृतीय र दुर्गादेवी कार्की सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । उत्कृष्ट चार कृषकलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । कृषि तथा पशुपन्छी कार्यालय दोलखाका पशु चिकित्सक मदन भण्डारीसहितको टोलीले मेलामा प्रदर्शनीमा राखिएका खसीबोकाको मूल्याङ्कन गरेको थियो । मेलामा १४७ जना कृषकले २०५ वटा खसीबोका प्रदर्शनमा राखेका थिए ।
भीमेश्वर नगरपालिकाको आयोजनामा दसैँको अवसर पारेर खसीबोका मेला तथा बाख्रापालक कृषक प्रोत्साहन कार्यक्रम आयोजना गरिएको हो । मेलामा ल्याइएका खसीबोकामध्ये २३ वटा बिक्री भएको भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष बासु श्रेष्ठले जानकारी दिनुभयो । कृषकले प्रतिकेजी जिउँदो खसीबोका ७५० रुपैयाँका दरले बिक्री गरेका थिए । बिक्रीमा कृषकलाई थप प्रोत्साहन गर्न वडाले प्रतिकेजी ४० रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्थानीय कृषकले उत्पादन गरेका खसीबोकालाई बजारसँग जोड्ने, उत्पादनको उचित मूल्य प्राप्त गर्न सहज बनाउने र बाख्रापालनलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । दसैँको समयमा आयोजना गरिएको मेलाले स्थानीय उत्पादनको बजारीकरणसँगै कृषकलाई बाख्रापालनतर्फ थप आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
भीमेश्वर नगरपालिकाले वडा नम्बर–५ लाई बाख्रापालनको पकेट क्षेत्र घोषणा गरे पनि बाख्रापालन प्रवद्र्धनका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले पकेट क्षेत्र घोषणा गरेअनुसार कार्यक्रम र बजेटलाई प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो ।