भीमेश्वर नगरपालिकाले विपद्का कार्यहरु तीन तहमा गरिरहेको छ । पहिलो नगर स्तरमा, दोस्रो वडा स्तरमा र तेस्रो तहमा समुदाय स्तरमा । त्यसै गरी भीमेश्वरले चार क्षेत्र १. संस्थागत व्यवस्थापन २. क्षमता अभिवृद्धि ३. कार्यक्रम÷आयोजना र ४. सम्पर्क, समन्वय र सहकार्यमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका कार्यहरु अघि बढाईरहेको छ ।
यूएसआइडी तयार नेपालको सहयोगमा तीन तहका चार वटै क्षेत्रहरुमा देखिने गरी भीमेश्वरले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका कार्यहरु सम्पादन गर्न सकेको छ । त्यसैगरी विपद् व्यवस्थापनका प्रत्येक चरणमा चाहे त्यो विपदको बेला होस् वा तत्त पश्चातको बेला । या पूर्वतयारी अनि पूर्व सूचना प्रणाली नै किन नहोस् । अझ थप भन्नुपर्दा जलवायु परिवर्तन, उद्यमशीलता र पर्यापर्यटनको क्षेत्रमा समेत हातेमालो गरेको छ ।
परियोजना शुरु भएसँग विश्वव्यापी महामारी कोभिड १९ ले भीमेश्वर नगरपालिकालाई नछुने कुरै भएन । यस समयमा यूएसआइडी तयार नेपालको सहयोग विशेषतः कामका लागि नगद जस्ता सफल कार्यक्रमले स्थानीयहरुलाई ठूलो राहत मिल्नुका साथै विकास निर्माणमा टेवा पुगेको थियो ।
यो बीचमा भीमेश्वर नगरपालिकाको नगरस्तरिय विपद् व्यवस्थापन समिति थप सक्रिय भएको छ । विपद् व्यवस्थापनका सवालहरु विषयगत समितिमा छलफल भै नीति र बजेट दुवैमा समेटिएको छ । विपद् सम्बन्धि कानूनहरु विशेषतः ऐन, विपद् कोष, मूलप्रवाहिकरण कार्यविधि लगायतका कानूनहरु क्रमशः कार्यान्वयनमा आएका छन् । अन्तर शाखाका बजेट कार्यान्वयनमा विपद्लाई मूलप्रवाहिकरण गर्न सकिएको छ ।
नगरस्तर, वडास्तर एवम् समुदायस्तरमा विपद् सम्बन्धि क्षमता अभिवृद्धिका लागि समावेशीमूलक योगदान गर्न युएसआइडी तयार नेपाल सफल भएको छ । निजी क्षेत्र लगायतका सरोकारहरु, उद्यमीहरु, युवाहरु समेत विपद् व्यवस्थापनको कार्यबाट लिन सक्ने लाभ र गर्ने सक्ने सहकार्यलाई समेत परियोजनामा समेट्दा विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन क्रस कटिङ्ग विषय रहेछ भन्ने बुझाइको साथै व्यवसायिक क्षमतामा समेत वृद्धि भएको भीमेश्वर नगरपालिकाले महसुस गरेको छ । यद्यपी वडास्तर र समुदायस्तरमा अझ थप कार्यहरु भीमेश्वरले गर्न जरुरी छ । नगर आपतकालिन कार्य सञ्चालन केन्द्रको संस्थागत विकास, उपकरण एवम् सामग्री हस्तान्तरण, विपद् पोर्टलको स्थानीयकरण, सम्पर्क, समन्वय एवम् सिकाई आदानप्रदानमा परियोजनाको महत्वपूर्ण योगदान रह्यो ।
निर्माण आयोजनाहरु देखिने कार्यहरु हुन र स्वाभाविक रुपले यसको चासो भीमेश्वर नगरपालिका र आम जनतालाई हुने नै भयो । मर्याङ्गको पहिरो नियन्त्रणको कार्य होस् या साङ्ग खोलाको दुबै पहिरो नियन्त्रणका नमूना कार्यहरु हुन् । पर्यापर्यटनमा गरिएका कार्यहरु मध्ये सिमपानीदेखि भ्यूटावर अनि राङ्गराङ्गथलीको पदमार्गले थामी जातिको थाकथलो मात्र जोड्दैन यसले तिलकपाखरीसँगैको वन जहाँ ४३ थरीका सुनगामाको खुल्ला संग्रहालयलाई समेत जोड्न सफल भएको छ ।
विपद पूर्वतयारी तथा योजनावद्ध भौतिक विकासको महत्वपूर्ण दस्तावेज जोखिम संवेदनशिल भूउपयोग योजना यूएसआइडी तयार नेपालको भीमेश्वर नगरपालिकालाई अर्को महत्वपूर्ण उपहार हो । भवन संहिताको प्रयोग र आरडिएलयूपीले निर्देश गरेका भूभागमा विकास निर्माण कार्यहरुलाई भीमेश्वरले कार्यान्वयनका चरण क्रमशः अघि बढाई रहेको छ ।
पहिरोमा आधारित पूर्वसूचना प्रणालीले पहिलो पटक भीमेश्वरलाई लाइभ डेटाको युगमा प्रवेश गराएको छ । यसबाट प्राप्त मौसम सम्बन्धि डेटा र मूलतः वर्षातको डेटाले प्रत्येक वर्ष मनसुन अवधिमा हुने सानो ठूलो पहिरो पूर्वतयारीमा महत्वपूर्ण योगदान रहेको छ । यसलाई नै आधार मानेर भीमेश्वरले हाल जल तथा मौसम विभागको सहकार्यमा प्रभावमा आधारित पूर्वानुमान जारी गर्न थालेको छ । यसको सिकाइले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा महत्वपूर्ण कार्यहरु भएका छन् ।
आगलागी नियन्त्रणमा भीमेश्वरका फायर फाइटर तयार गर्नुका साथै समुदाय र भगिनी नगरपालिकाका नगरप्रहरीहरुको समेत क्षमता अभिवृद्धि एवम् दमकल र आगलागी नियन्त्रणसँग सम्बन्धित सामग्रीहरु, सम्पर्क सेटहरु लगायतको सहयोगले प्रतिकार्यमा लाग्ने समय छोटिन गई प्रभावकारी प्रतिकार्य भएका छन् । यसको लाभ कालिञ्चोक, शैलुङ र वैत्यश्वर गाउँपालिका लगायतले लिएका छन् ।
विपद ब्यवस्थापनको कार्यलाई हाम्रो दैनानुदिनको कार्यमा लैजान र अन्ततः यसलाई हाम्रो संस्कृतिको रुममा ग्रहण गर्न पुस्ताहस्तारण हुन जरुरी छ । यसर्थ यसलाई कक्षा ८ सम्मको पाठ्यक्रममा समावेश गरिएको छ । यसको अद्यावधि गर्ने समय भएको हुँदा युएसआइडी तयार नेपालको महत्वपूर्ण सहयोग रहेछ भन्नेमा भीमेश्वर विश्वस्त छ ।
संक्षेपमा भन्दा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको क्षेत्रमा भीमेश्वरले देखिने गरी कार्यहरु गरेको छ र यो युएसआइडि तयार नेपालको परियोजना विना सम्भव थिएन । भीमेश्वरले प्रदेशस्तरमा र संघीयस्तरमा आफ्नो बलियो उपस्थिति राख्न सफल हुनुमा समेत परियोजनाको योगदान रहेको वास्तविकता हामी भुल्न सक्दैनौं । यसर्थ युएसआइडि तयार नेपाललाई हार्दिक धन्यवाद । विपद् व्यवस्थापन एक पटकको कार्य हैन बरु यो त निरन्तरको प्रक्रिया हो । अब भीमेश्वरलाई यसको निरन्तरताको चुनौती र अवसर एकसाथ प्राप्त भएको छ । आशा छ, अरु रुपबाट समेत युएसआइडीको सहयोग हामीलाई मिल्नेछ । पुनः युएसआइडि तयार नेपालको परियोजना टिमलाई हार्दिक धन्यवाद ।