दोलखा बजारको मुटुमै, भीमेश्वर नगरपालिका–२ मा अवस्थित छ, दि पुखुुर्चा दोलखा रिसोर्ट । चार वर्षअघि सिर्जना मानन्धर प्रधानले सुरु गरेको यो रिसोर्ट अहिले जिल्लामात्र होइन, भक्तपुर, काठमाडौं लगायतबाट आउने पाहुनाको लागि पनि फरक स्वाद चाख्ने थलो बनेको छ । यहाँ आउने जो–कोहीलाई आकर्षण बनाउने मुख्य कारण भनेकै कोदो, मकै र फापरका परिकारहरू हुन् ।
यस रिसोर्टमा पाइने परिकारहरू अन्य होटलभन्दा बिलकुल फरक छन् । कोदोको मःम, निम्की, रोटी, मकैको खजुरी, समसा, फापरको प्यानकेक र जेरीजस्ता परिकारले यहाँको विशेषता बोकेका छन् । अझ रमाइलो कुरा त के भने, यी परिकार स्वादिलो मात्र नभई स्वास्थ्यप्रद पनि छन् । बजारमा पाइने विषादीयुक्त अन्नपात र जङ्क फुडको विकल्पस्वरूप सिर्जनाले सिर्जना गरेको यो प्रयास पाहुनालाई आकर्षित गरिरहेको छ । उनी भन्छिन्, “हामीले बनाएको परिकार स्वादिलो मात्र होइन, स्वस्थकर पनि हो । पाहुनाले एकपटक खानुभयो भने दोहो¥याएर अर्डर गर्नुहुन्छ ।”

रिसोर्टमा परिकारको लोकप्रियता यति बढेको छ कि अहिले जिल्लाका विभिन्न कार्यालय र संघसंस्थाले पनि अर्डर गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय दोलखामा मासिक रूपमा हुने कार्यालय प्रमुखहरूको बैठकमा कोदोको परिकारको खाजा प्रयोग हुँदै आएको छ । त्यस्तै, विद्यालय, सहकारी संस्था, धुलीखेल दोलखा अस्पतालका कर्मचारीहरूले पनि बेला–बेला यही खाजा छनोट गर्छन् । केवल स्थानीय मात्र होइन, काठमाडौंबाट समेत फोनमार्फत अर्डर आउन थालेको छ । नेवारी खाजा पाउन सकिने भए पनि रिसोर्टले पहिलो प्राथमिकता भने कोदोका परिकारलाई दिएको छ ।
यहाँ पाइने परिकारको मूल्य पनि सहज छ । कोदोको मःम प्रति प्लेट भेजमा १५० रुपैयाँ र नन–भेज २५० रुपैयाँमा उपलब्ध हुन्छ । त्यस्तै, कोदोको निम्की प्रतिकिलो ७०० रुपैयाँमा दिने गरिन्छ । मधुमेहका बिरामीलाई लक्षित गर्दै यो निम्की सुगर फ्री बनाइएकाले सबैले सजिलै खान सक्ने गर्छन् । मकैको खजुरी गुलियो स्वादमा हुुने भएकाले बालबालिकाले निकै मन पराउने परिकार हो ।
रिसोर्ट सञ्चालनमा आएपछि स्थानीय किसानलाई समेत ठूलो राहत पुगेको छ । पहिले कोदो, मकै र फापर उत्पादन कम मात्रामा हुन्थ्यो, र रिसोर्टका लागि गाउँ–गाउँ धाउनुपर्ने हुन्थ्यो । तर अहिले किसान आफैंले कोदो, मकै बोकेर रिसोर्टमा ल्याउने गरेका छन् । यसले गाउँमा खेती गर्ने उत्साह बढाएको छ । मूल्य पनि आकर्षक भएकाले किसानले उत्पादन बढाउन थालेका छन् । रिसोर्टले कोदो पाथीको १५० रुपैयाँ, तितेफापर ३०० रुपैयाँ, मिठेफापर ४५० रुपैयाँ र मकै १७५ रुपैयाँमा खरिद गर्दै आएको छ ।
यहाँ आउने पाहुनामध्ये भक्तपुरका पर्यटक उल्लेख्य संख्यामा हुन्छन् । प्रायः उनीहरू शुक्रबार बेलुकी दोलखा आउने, शनिबार बिहान भीमेश्वर मन्दिरको दर्शन गर्ने र फर्कँदा रिसोर्टमा आएर खाजा खाने गर्छन् । कतिपय पाहुनाहरू शैलुङ वा कालिञ्चोक पुगेपछि फर्कँदा पनि यही रिसोर्टमा पसेर कोदोको निम्कीलाई कोशेली बनाएर लैजान्छन् । तीन महिना टिक्ने निम्की वा एक महिना टिक्ने खजुरी घर फर्कँदा परिवार र साथीभाइलाई दिने परम्परा बढ्दै गएको छ । शुक्रबार र शनिबार दोलखा बजारका करिब ९० प्रतिशत होटल पर्यटकले भरिने गर्छन् । तर फरक स्वाद र स्वास्थ्यप्रतिको सजगता खोज्ने पाहुनाले भने पुखुुर्चा रिसोर्ट रोज्ने गरेका छन् । एक वर्षको अवधिमा १६८० किलोभन्दा बढी निम्की बिक्री भएको तथ्यांकले यहाँको लोकप्रियता प्रमाणित गर्छ । अर्डरअनुसार स्कुस र गाँजरको हलुवा पनि तयार पार्ने भएकाले परिकारमा विविधता थपिएको छ ।
सिर्जना मानन्धर प्रधानले सुरु गरेको यो रिसोर्ट केवल होटल मात्र होइन, दोलखाको खानपान संस्कृतिको प्रतिनिधि स्थल बनेको छ । उनले परिकारसँगै सन्देश पनि दिन्छिन् । जङ्क फुडभन्दा स्थानीय उत्पादन रोजौं, स्वास्थ्यप्रद खानाबाट जीवनशैली सुधारौं र किसानलाई प्रोत्साहन दिऔं । यही सोचका कारण पुखुुर्चा रिसोर्टले किसान, उपभोक्ता र पाहुनालाई एउटै धागोमा बाँधेको छ । आज जब सहरमा स्वास्थ्य समस्या बढ्दै गएको छ, त्यस्तो अवस्थामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै स्वास्थ्यप्रद जीवनशैलीतर्फ समाजलाई अभिमुखीकरण गर्ने पुखुुर्चा रिसोर्ट जस्तो थलो आवश्यक छ । रिसोर्ट नाम दिए तापनि होमस्टेको रुपमा लिने गर्छन सिर्जना । रिसोर्ट सञ्चालनको लागि उनलाई श्रीमान अजय प्रधानको साथ छ । अजय प्रधानले मौलिक खानासम्बन्धी तालिम लिएपछि स्थानीय उत्पादनलाई प्राथमिकता दिदैं कोदो लगायतका परिकार बनाउन सुरु गरेका हुन् । यही कारणले यहाँ आउने जो–कोही पाहुनाले भन्छन् “दोलखाको यात्रा अधुरो हुन्छ, यदि पुखुुर्चा रिसोर्टको कोदोको मःम नचाखी फर्कियो भने ।