तिहार पर्वलाई शान्तिपूर्ण र उल्लासमय वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय दोलखाले विशेष सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा प्रकाशित विज्ञप्तिमा पर्व मनाउँदा मर्यादा कायम राख्न सबै नागरिकलाई आग्रह गरिएको छ ।
सूचनामा देउसी–भैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति रहने उल्लेख गरिएको छ । यसपछि हुने कुनै पनि गतिविधिलाई नियन्त्रणमा लिने चेतावनी प्रशासनले दिएको छ । त्यसैगरी, तिहारको अवसरमा प्लाष्टिकजन्य पूलमाला, पटका, आतिसबाजी लगायतका विष्फोटक सामग्रीको आयात, बिक्री, वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ । यस्ता वस्तुहरू उत्पादन वा बिक्री–वितरणमा संलग्न भेटिए कानूनी कारबाही हुने प्रजिअ दाहालले चेतावनी दिनुभएको छ ।
व्यवसायीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्र, कर प्रमाणपत्र, मूल्यसूची र साइनबोर्ड अनिवार्य रूपमा राख्न पनि निर्देशन दिइएको छ । त्यस्तै, मादक पदार्थ सेवन गरेर सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने, होहल्ला मच्चाउने वा झगडा गर्ने कार्य नगर्न अनुरोध गरिएको छ । प्रशासनले जुवातास, कौडा, लंगुरबुर्जा लगायतका जुवाजन्य खेलहरू खेल्न निषेध गरेको छ ।
सूचनामा भनिएको छ, “तिहार सबैको साझा पर्व हो । यसलाई उल्लासपूर्ण तर मर्यादित रूपमा मनाऔं । नियम उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ ।”
