विकासप्रति पत्रकारको चासो र सक्रियता बढाउने उद्देश्यले भीमेश्वर नगरपालिकाको सहयोगमा लेखनवृत्ति अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको आयोजनामा आजदेखि चरिकोटमा सुरु भएको कार्यक्रम विकास पत्रकारिता तालिमसहित सञ्चालन गरिएको हो ।

पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्लेले दिएको जानकारी अनुसार तालिममा दोलखामा क्रियाशील रेडियो, पत्रपत्रिका र अनलाइनमा कार्यरत पत्रकारहरूको सहभागिता रहेको छ । तालिमका सहभागीहरुलाई अक्षर काका (रामनाथ खनाल) र सागर चन्दले प्रशिक्षण दिइरहनुुभएको छ ।

तालिम उद्घाटन गर्दै भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले पत्रकारले देखेका कुरालाई प्रस्ट, तथ्यगत र जनपक्षीय ढंगले लेख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “भीमेश्वर नगरपालिका अन्य पालिकाको तुलनामा जनभावना र जनअपेक्षा अनुसार काम गरिरहेको छ,” उहाँले भन्नुभयो, “घरघरमा धारा, टोलटोलमा सडक, शिक्षा, स्वास्थ्य र रोजगारजस्ता क्षेत्रमा नगरपालिका क्रियाशील छ ।”
कार्यक्रम उद्घाटन नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षता र नगर प्रमुख इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष दीपशंकर चौलागाईं, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष श्रृजन कुमार घिमिरे र प्रेस सेन्टर नेपाल दोलखाका अध्यक्ष अविरल बस्नेतले मन्तव्य राख्नुभएको थियो ।
अभिमुखीकरणपछि १५ जना पत्रकारलाई विभिन्न विषयमा लेखनवृत्तिको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।